जनकपुरधाम, १५ असार । मधेशको समृद्ध कृषि परम्परालाई पुनः उजागर गर्न जनकपुरधाममा २२औं राष्ट्रिय धान दिवस भव्य रूपमा मनाइएको छ ।

नोचा पोखरी नजिक आयोजित कार्यक्रममा किसान, कृषि विज्ञ, जनप्रतिनिधि र बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रामसरोज यादवले विगतमा मधेश धान उत्पादनमा अग्रणी रहेको स्मरण गर्दै पछिल्लो समय उत्पादन घट्नुमा सरकारी उदासीनता, सिँचाइको अभाव, गुणस्तरीय बीउ तथा मलको अपुग प्रमुख कारण भएको बताए ।

‘एक समय थियो, मधेशबाट भारतसम्म धान निर्यात हुन्थ्यो, आज भारतबाट आयात गरिनुपरेको स्थितिमा छौं,’ यादवले गुनासो गरे ।

कार्यक्रममा जनकपुरधाम उपमहानगर प्रमुख मनोजकुमार साहले सरकारको प्रभावकारी व्यवस्थापन भए धान उत्पादन पुनः बढाउन सकिने विश्वास व्यक्त गरे । उनले कमला नदीको पानी जनकपुरधामसम्म ल्याउने योजनामा संघीय र प्रदेश सरकारले गम्भीरता देखाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी कृषि विज्ञहरूले जलवायु अनुकूल प्रविधि, सिँचाइ पूर्वाधार, उन्नत बीउको पहुँच र मल आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रम आनन्द नेपाल महोत्तरी र जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो । धान रोपाइँ, परम्परागत सांस्कृतिक प्रस्तुति र कृषकमाझ अन्तरक्रिया सहित कार्यक्रमलाई उत्सवको रूप दिइएको थियो ।

सहभागी किसानहरूले सरकारले मलखाद समयमै नपठाउँदा रोपाइँ ढिला हुने, बीउको गुणस्तर कमजोर हुनु र सिँचाइ समस्या समाधान नभएसम्म उत्पादन वृद्धि चुनौतीपूर्ण हुने बताएका थिए ।