जनकपुरधाम, १५ असार । लागू औषध दुरुपयोगबाट उत्पन्न सामाजिक संकटबारे समुदायलाई सचेत गराउने उद्देश्यले जनकपुरधाममा दुई दिने सजगता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

तालिम नेपाल जनहित कल्याण केन्द्र, जलेश्वर–३ को आयोजना र जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता चन्दन अधिकारीले गरेका थिए भने उपमहानगर प्रमुख मनोजकुमार साह प्रमुख अतिथिका रूपमा उपस्थित थिए । तालिममा समाजसेवी, शिक्षक, स्वास्थ्यकर्मी, युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि मेयर साहले लागू औषधको समस्या मधेश क्षेत्रका शहरी क्षेत्रमा झनै तीव्र रूपमा फैलिएको भन्दै यसको रोकथामका लागि परिवार, विद्यालय, समुदाय र सरकारको समन्वित भूमिका अपरिहार्य रहेको बताए ।

‘लागू औषधको लत आज युवावर्गलाई बिनाशतर्फ डोर्याउँदैछ,’ उनले भने, ‘यस संकटबाट समाजलाई बचाउन सामूहिक अभियान चलाउन जरुरी छ ।’

तालिममा लागू औषधका प्रकार, यसको मनो–शारीरिक असर, पुनःस्थापना प्रक्रिया, कानुनी व्यवस्था र समुदायको सक्रिय भूमिका लगायतका विषयमा प्रशिक्षकहरूद्वारा प्रस्तुति दिइएको थियो । सहभागीहरूबीच समूह छलफल, अनुभव आदानप्रदान र स्थानीय सन्दर्भमा छलफलसमेत गरियो ।