चित्रपुरमा आँप महोत्सव : स्वाद, पर्यटन र सम्भावनाको संगम

जनकपुरधाम, १४ असार । धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित चित्रपुरमा शनिबारदेखि दुई दिवसीय ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ सुरु भएको छ ।
स्थानीयस्तरमा उत्पादित आँपको प्रचारप्रसार, व्यवसायिक बजार विस्तार तथा कृषि पर्यटन प्रवद्र्धनलाई लक्षित गरी असार १४ र १५ गतेसम्म मेला सञ्चालन गरिने आयोजकले जनाएको छ ।
चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा आयोजित मेलामा करिब ३०० बिघा क्षेत्रफलमा फैलिएको आँप बगैंचाबाट सङ्कलित विभिन्न जातका आँपका अचार, आमिलो, अमोट र जुस प्रदर्शनमा राखिएको छ ।
मधेशमै सर्वाधिक आँप उत्पादन हुने क्षेत्रका रूपमा चिनिएको चित्रपुरमा भएको यो महोत्सवले ‘गाउँमै उत्पादन, गाउँमै प्रदर्शन र गाउँमै अनुभव’ भन्ने अवधारणालाई मूर्तरूप दिएको छ ।
मेला घुम्न आउने आगन्तुकका लागि निशुल्क आँप चाख्ने अवसर, आँप टिप्ने अनौठो अनुभव, बगैंचा भ्रमण, विभिन्न जातका आँपको ज्ञान दिने शैक्षिक कार्यक्रम र बालबालिकालाई लक्षित झुला लगायत मनोरञ्जनात्मक क्रियाकलापहरूको व्यवस्था गरिएको छ ।
पत्रकार शैलेन्द्र क्रान्तिका अनुसार, ‘मधेशमै सर्वाधिक आँप उत्पादन हुने चित्रपुरले कृषि पर्यटनको नयाँ सम्भावनाको ढोका खोल्दैछ । आगन्तुकले ‘फ्रुट टुरिज्म’ को स्वाद लिँदैछन् ।’
पूर्व–पश्चिम राजमार्गअन्तर्गत ढल्केबर र जमुनिबासको बीचबाट करिब ४ किलोमिटर दक्षिणमा अवस्थित चित्रपुर विगत दशकयता आँप उत्पादनको केन्द्रका रूपमा स्थापित हुँदै आएको छ । स्थानीय स्तरमा उत्पादित फललाई रूपान्तरण गरी अचार, जुस र अन्य परिकारमा व्यवसायिक प्रयोग गर्ने प्रयासले यस क्षेत्रलाई कृषि पर्यटनको थालनीतर्फ उन्मुख गराएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


