गुलमोहरको छाँयामा सजिँदै जनकपुर–ढल्केवर ६ लेन सडक

जनकपुरधाम, १४ असार । मधेश प्रदेश सरकारले जनकपुरधामदेखि ढल्केवरसम्मको ६ लेन सडकखण्डलाई हरियालीले सजाउने उद्देश्यसहित गुलमोहर विरुवा रोपण अभियान सुरु गरेको छ ।
शनिबार जनकपुरधाममा आयोजित विशेष समारोहबीच प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा कार्यक्रमको औपचारिक शुभारम्भ गरियो । कार्यक्रमको नेतृत्व वन तथा वातावरण मन्त्री संजयकुमार यादवले गरे ।
मन्त्री यादवले सडकको बीच भागमा रहेको डिभाइडरमा गुलमोहरको विरुवा रोपेर अभियानको थालनी गरे । राष्ट्रिय वृक्षारोपण दिवस–२०८२ को अवसर पारेर सुरु गरिएको यो अभियान वातावरणीय सन्तुलन र सौन्दर्यकरण दुबैका दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।
‘जनकपुर–ढल्केवर सडकखण्डमा गुलमोहर फुलेपछि सडक स्वर्गझै देखिनेछ,’ मन्त्री यादवले भने, ‘यसले धुलो र धुवाँबाट उत्पन्न प्रदूषण न्यूनीकरणमा पनि सहयोग पुग्नेछ ।’
उनका अनुसार वन तथा वातावरण मन्त्रालयको अगुवाइमा विरुवाको नियमित संरक्षण र रेखदेख गरिनेछ । स्थानीय तह, सामुदायिक वन र विभिन्न संघसंस्थाको सहकार्यमा अभियानलाई दिगो बनाइने उनले जानकारी दिए ।
कार्यक्रममा प्रदेश सरकारका पदाधिकारी, जनप्रतिनिधि, स्थानीय समाजका अगुवा र वातावरण अभियन्ताहरूको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


