बजेटप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष राउतको स्पष्टोक्ति : ‘अहिल्यै सरकार छोड्दैन जनमत पार्टी’

सप्तरी, १४ असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेश सरकारप्रति असन्तुष्टि सार्वजनिक गरेपनि तत्कालै सरकार नछाड्ने स्पष्ट पारेका छन् ।
शनिबार सप्तरीको बलान बिहुल गाउँपालिकामा आयोजना गरिएको कृषि विद्युतीकरण योजना अनुगमनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष राउतले जनताको हितका लागि अघि सारेका धेरैजसो कार्यक्रमहरू बजेटबाट हटाइएकाले असन्तुष्टि भएको तर सरकारबाट फिर्ता हुने निर्णय भने नलिएको बताए ।
‘जनमत पार्टी सधैं जनताको पक्षमा उभिन्छ । हामीले कृषकहितमा दीर्घकालीन योजना ल्याएका थियौं । तर, तीमध्ये धेरैजसो बजेटबाट हटाइए, त्यसैले हामी असन्तुष्ट भएका हौं,’ अध्यक्ष राउतले भने, ‘तर यसले गर्दा अहिले नै सरकार छाड्ने अवस्था आएको छैन ।’
अध्यक्ष राउतले वर्तमान गठबन्धनलाई ‘लुज एलायन्स’ अर्थात ढीलो संयन्त्रको संज्ञा दिँदै त्यसको मुख्य उद्देश्य संविधान संशोधनको मागमा केन्द्रित रहेको बताए । उनका अनुसार कुनै पनि दल सरकारमा जान्छ वा समर्थन फिर्ता लिन्छ भन्ने विषयमा मोर्चाभित्र औपचारिक छलफल सुरु नभएको बताए ।
‘मोर्चाको मूल एजेन्डा संविधान संशोधनकै हो । यसैबारे मोर्चाभित्र निरन्तर छलफल भइरहेकै छ,’ राउतले भने, ‘भोलि पनि मोर्चाको बैठक बस्दैछ, त्यही छलफलपछि साझा रणनीति तय हुनेछ ।’
राउतको जनमत पार्टी मधेश प्रदेश सरकारमा सत्ता साझेदार भए पनि पछिल्लो समय प्रदेश बजेटमा आफ्ना प्राथमिकताका कार्यक्रम हटाइएपछि सार्वजनिक असन्तुष्टि जनाउँदै आएको छ । तर, अध्यक्ष राउतको शनिबारको अभिव्यक्तिले जनमत पार्टी तत्काल सरकारबाट बाहिरिने सम्भावनालाई खारेज गरेको देखिन्छ ।
जनमतले अघि सारेको कृषि विद्युतीकरण कार्यक्रम भने प्रदेशको कृषिमा नयाँ युग सुरु गर्ने दाबी गर्दै प्रचार गरिँदै आएको छ । राउतले त्यही योजनाको स्थलगत अवलोकन गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


