गणेश आकृतिको दुर्लभ सखुवालाई ‘धनुष सखुवा’ नामकरण

जनकपुरधाम, १४ असार । धनुषाधाम सव–डिभिजन वन कार्यालय परिसरमा अवस्थित एक अद्वितीय र दुर्लभ स्वरूपको सखुवा (साल) रूखलाई शनिबार औपचारिक रूपमा ‘धनुष सखुवा’ नाम दिइएको छ ।
हिन्दू आराध्यदेव गणेशको आकृतिमा देखिने यो वृक्ष मधेश प्रदेश सरकारले राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर आयोजित विशेष समारोहबीच नामकरण गरेको हो ।
झण्डै २० फिट लामो जरासहित र १५ फिटको मोटाईमा फैलिएको उक्त सखुवा रूखको विशिष्ट स्वरूपले धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्व बोकेको मानिएको छ । ‘धनुष सखुवा’ नाम दिइएको यो रूख अब संरक्षणका लागि प्रदेश सरकारको प्राथमिकतामा पर्ने जनाइएको छ ।
कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र वन तथा वातावरण मन्त्री संजय कुमार यादवले संयुक्त रूपमा रूखको नामकरण गर्दै वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए ।
मुख्यमन्त्री सिंहले भने, ‘प्रकृतिले दिएको यस्तो अनुपम कृति हाम्रो गौरव हो । धनुष सखुवा केवल रूख मात्र नभई पर्यावरण, पर्यटन र सांस्कृतिक धरोहरको प्रतीक हो । यसलाई बचाउनु हामी सबैको कर्तव्य हो ।’
वनमन्त्री यादवले सखुवालाई ‘धनुषाको पर्यावरणीय चिनारी’ बनाइने प्रतिबद्धता व्यक्त गर्दै यसको प्रचार, संरक्षण र प्रवद्र्धनका लागि प्रदेश सरकार गम्भीर रहेको बताए ।
धार्मिक दृष्टिले पनि गणेशजीको आकृतिमा देखिने यो रूखको दर्शन गर्न श्रद्धालुहरूको आकर्षण बढ्न सक्ने भएकाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास छ ।
कार्यक्रममा डिभिजन वन कार्यालय जनकपुरधामका प्रमुख विनोद सिंह, धनुषाधाम सब–डिभिजन वन प्रमुख शंकर नारायण झा, संरक्षण परिसरका सचिव सत्यनारायण यादवलगायत विभिन्न समुदायका अगुवा, समाजसेवी, विद्यार्थी, सञ्चारकर्मी र स्थानियको उल्लेखनीय उपस्थिति रहेको थियो ।
समारोहमा सहभागीहरूले धनुष सखुवालाई हरित धरोहरको रूपमा स्थापित गर्दै वृक्ष संरक्षणको संकल्प पनि गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


