जनकपुरधाम, १४ असार । युवाहरूलाई नेतृत्व, सामाजिक सेवा र सञ्जाल विस्तारमा सक्रिय बनाउन लायन्स क्लब अफ जनकपुरधाम आस्थाले नयाँ लियो क्लब गठनको घोषणा गरेको छ । क्लबले १८ देखि २९ वर्ष उमेर समूहका जोशिला र प्रतिबद्ध युवाहरूलाई क्लबको प्रारम्भिक सदस्य बन्ने अवसर प्रदान गर्ने भएको हो ।

क्लबका अनुसार, ‘हामी यस्तो प्लेटफर्म निर्माण गर्दैछौं, जहाँ युवाहरूले सामाजिक सेवामा सक्रिय सहभागिता जनाउन, नेतृत्व विकास गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन सकून् ।’

सामाजिक क्षेत्रमा योगदान गर्न इच्छुक युवाले आफ्नो व्यक्तिगत विवरण र सामाजिक सेवा सम्बन्धी योजना वा विचारहरू समेटिएको संक्षिप्त प्रस्ताव पठाई आवेदन दिन सक्नेछन् । क्लबका अनुसार आवेदन प्रक्रिया सरल र समावेशी हुनेछ ।

लियो क्लब विश्वव्यापी रूपमा युवाहरूलाई सेवा, नेतृत्व र व्यक्तिगत विकासतर्फ अग्रसर गराउने एक सशक्त संस्था हो । जनकपुरधाममा गठन हुन लागेको यस क्लबमार्फत युवाहरूले विभिन्न सामाजिक परियोजनामा सहभागिता जनाउन पाउनेछन् ।