जनकपुरधाम, १३ असार । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि हरेक नागरिकले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

धनुषाको मतलेश्वरस्थित कल्चरल भिलेजमा आमसञ्चार प्राधिकरणद्वारा आयोजित तीनदिने पत्रकार क्षमता अभिवृद्धि तालिमको समापन समारोहमा बोल्दै अध्यक्ष झाले संघीयता नेपाली जनताको लामो संघर्ष र बलिदानीको उपलब्धि भएको उल्लेख गर्दै यसको संस्थागत निर्माणमा सञ्चारकर्मीहरूको भूमिकालाई निर्णायक बताएका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व हो,’ उनले भने, ‘सञ्चारकर्मीहरूले कलमको माध्यमबाट संघीयताका उपलब्धिहरू जनतासमक्ष पुर्याउनु पर्छ ।’

अध्यक्ष झाले संघीयताको कार्यान्वयनलाई शहीदहरूप्रतिको सच्चा श्रद्धाञ्जलीको रूपमा व्याख्या गर्दै संविधानमा प्राप्त अधिकारहरूको संरक्षणमा सञ्चार क्षेत्रको संवेदनशील भूमिका रहेको तर्क गरे ।

कार्यक्रमका क्रममा उनले मधेशमा भएका ऐतिहासिक परिवर्तनको चर्चा गर्दै सञ्चार क्षेत्रका लागि बनेका विधेयकहरूप्रति चासो व्यक्त गरे । ‘म आफैं मधेशवासी हुँ तर मधेश प्रदेश सरकारबाट अहिलेसम्म कुनै प्रकारको कदर वा समावेशिता अनुभव गर्न पाएको छैन, ’अध्यक्ष झाले भने, ‘यो पीडादायी पक्ष हो ।’

तीन दिनसम्म सञ्चालन भएको तालिममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका तीन दर्जनभन्दा बढी सञ्चारकर्मी सहभागी थिए । तालिममा प्राधिकरणमा दर्ता भएका अनलाइन न्युज पोर्टलका सम्पादकहरूलाई डिजिटल पत्रकारिता, नीति, आचारसंहिता र नवीनतम प्रविधिको प्रयोगसम्बन्धी सशक्तिकरण प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रमको समापन समारोहमा आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा, मधेश प्रदेशका मुख्यमन्त्रीका सल्लाहकार अवधेश झा, पत्रकार अनिल कर्ण, नेपाल पत्रकार महासंघ मधेश प्रदेशकी उपाध्यक्ष एवम् आमसञ्चार प्राधिकरणका सदस्य ज्योति झा लगायतको उपस्थिति रहेको थियो ।

सहभागी सञ्चारकर्मीहरूले यस्ता तालिमले व्यावसायिक दक्षता अभिवृद्धिमा सहयोग पुर्याउने भन्दै नियमित र क्षेत्रीय सन्तुलनका साथ यस्ता कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।