जनकपुरधाम, १३ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभावले देशको विकास प्रक्रिया प्रभावित भएको बताएका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजित ’अन्तर–सरकार सम्बन्धका सवालहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले संविधान र कानुनले स्पष्ट रूपमा जिम्मेवारी तोके पनि व्यवहारमा तीन तहबीच आवश्यक समन्वय हुन नसक्दा विकास गतिहीन भएको टिप्पणी गरेका हुन् ।

‘अहिलेका अधिकांश गुनासा समन्वयको अभावकै उपज हुन्,’ मुख्यमन्त्री सिंहले भने, ‘स्पष्ट कार्यविभाजन हुँदाहुँदै पनि तालमेलको कमीले गर्दा जनताले शासन व्यवस्थाको वास्तविक अनुभूति गर्न पाएका छैनन् ।’

कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले समेत सरकारबीचको अधिकार बाँडफाँट स्पष्ट भए पनि त्यसको कार्यान्वयनमा चुनौती रहेको धारणा राखे ।

‘संविधानले दिएको अधिकारकै विषयमा पटक–पटक विवाद उठिरहेको छ,’ उनले भने, ‘शासन प्रणाली राम्रो छ । तर, यसलाई बदनाम गर्ने प्रवृत्तिबाट बच्न जरुरी छ ।’

कार्यक्रममा मधेश प्रदेशका पूर्व योजना आयोग उपाध्यक्ष डा. भोगेन्द्र झा ’व्यथित’, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू, प्रदेश सरकारका मन्त्रीहरू लगायतले अन्तर–सरकारी समन्वयको सुदृढीकरण आवश्यक रहेको बताएका थिए ।

नीति निर्माणदेखि कार्यान्वयनसम्म तीन तहबीचको भूमिका र नियमित सहकार्य हुनुपर्नेमा सहभागीहरूको जोड थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आयोजित उक्त कार्यक्रमले वर्तमान संघीय संरचनामा देखिएको प्रशासनिक र प्राविधिक असमझदारीलाई सम्बोधन गर्ने प्रयत्न गरेको थियो । सहभागीहरूले यस्ता अन्तरक्रियात्मक छलफललाई नियमित गर्ने खाँचो औँल्याएका थिए ।