जनकपुरधाम, १३ असार । धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित चित्रपुरमा शनिबारदेखि दुई दिवसीय दोस्रो ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ सुरु हुन लागेको छ । स्थानीय किसानहरूको सक्रियतामा आयोजना गर्न लागिएको यो मेलाले कृषि, पर्यटन र बजार प्रवर्द्धनलाई जोड्न महत्वपूर्ण प्रयास गरेको छ ।

चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा भइरहेको मेलामा विभिन्न जातका आँपका परिकार—अचार, अमोट, आमिल, जुस लगायतको प्रदर्शनी गरिने छ । आयोजक समिति सदस्य प्रदीप महतोका अनुसार मेलाको उद्देश्य केवल फलफूलको प्रदर्शन मात्रै नभई आँप खेतीको सम्भावना र यसमार्फत रोजगारी तथा पर्यटन प्रवद्र्धनका सम्भावनाहरू उजागर गर्नु हो ।

मेलामा आउने पर्यटकका लागि विशेष आकर्षणस्वरूप निःशुल्क आँप खुवाउने, बगैंचामा घुमाउने, रुखबाट आँप छानेर टिप्ने अनुभव दिलाउने साथै विद्यार्थीहरूलाई जात–जातका आँप चिन्न सिकाउने कार्यक्रमहरू समावेश गरिएको स्थानीय सञ्चारकर्मी फुलगेन मगहीले जानकारी दिए । पर्यटकहरूले मनपर्ने आँप रुखबाटै टिपेर ताजा रूपमा किन्न सक्ने सुविधा पनि मेलामा उपलब्ध छ ।

चित्रपुर क्षेत्रमा ३०० विघाभन्दा बढी क्षेत्रफलमा फैलिएको आँप बगैंचाले यस क्षेत्रलाई मधेश प्रदेशको मुख्य आँप उत्पादन केन्द्रको रूपमा स्थापित गरिसकेको छ । ढल्केबर वा जमुनिबासबाट झण्डै ४ किलोमिटर दूरीमा पर्ने चित्रपुरलाई ‘म्याङ्गो पकेट’ भनेर चिनिन थालिएको छ ।

आयोजकका अनुसार चित्रपुर आँप मेलाले कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्याउने मात्र नभई आन्तरिक पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने दीर्घकालीन लक्ष्य लिएको छ ।