जनकपुरधाम, १३ असार । धार्मिक तथा सांस्कृतिक धरोहरको केन्द्रका रूपमा परिचित जनकपुरधाममा पहिलोपटक ऐतिहासिक श्रीजगन्नाथ रथयात्रा भव्य रुपमा सम्पन्न भएको छ ।

शुक्रबार अपराह्न ४ बजे जानकी मन्दिर परिसरबाट विधिवत् शुभारम्भ भएको रथयात्रामा हजारौं श्रद्धालुहरूको उत्साहजनक सहभागिता रहेको थियो । परम्परागत बाजागाजा, भजनकीर्तन र उल्लासपूर्ण वातावरणबीच श्रद्धालुहरूले भगवान श्रीजगन्नाथको रथ तानी नगर परिक्रमा गरेका थिए ।

रथयात्राको सम्पूर्ण मार्गमा भक्तजनका लागि प्रसाद वितरणको व्यवस्था गरिएको थियो । श्रद्धालुहरूले रथ मार्गभर उत्सवको माहोल सिर्जना गरेका थिए भने स्थानीय बासिन्दाहरूले फूल र जल चढाएर रथयात्रालाई स्वागत गरेका थिए ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले रथयात्रालाई जनकपुरधामको धार्मिक, सांस्कृतिक र पर्यटकीय पहिचान सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे । ‘जनकपुरधाम जस्तै पवित्र नगरीमा श्रीजगन्नाथ रथयात्रा आयोजना हुनु धार्मिक पर्यटनको दृष्टिले पनि महत्वपूर्ण उपलब्धि हो,’ उनले भने ।

रथयात्रा व्यवस्थापनमा जानकी मन्दिर समितिसँगै स्थानीय स्वयंसेवकहरू, युवा समूह र धार्मिक संघसंस्थाहरूको उल्लेखनीय सहयोग देखिएको थियो । धार्मिक अनुशासन, स्वच्छता तथा सुरक्षा व्यवस्थापनमा स्वयंसेवकहरूको सक्रियता प्रशंसनीय रहेको जनाइएको छ ।

स्थानीय समुदायका अनुसार श्रीजगन्नाथ रथयात्राको सुरु हुनुले जनकपुरधाममा परम्परागत हिन्दू संस्कृतिको विस्तार, धार्मिक पर्यटनको प्रवद्र्धन र सांस्कृतिक पुनर्जागरणमा नयाँ सम्भावना थपेको छ ।