धनुषामा विपद् पूर्वतयारीका लागि समन्वयात्मक बैठक सम्पन्न

जनकपुरधाम, १३ असार । मनसुन सक्रिय भएसँगै सम्भावित बाढी, डुवान र अन्य प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि धनुषामा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाको आयोजनामा शुक्रबार सम्पन्न उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा विभिन्न सरकारी निकाय, सुरक्षाकर्मी र विपद् तथा मानवीय सहायता क्षेत्रमा क्रियाशील संघसंस्थाहरूको सहभागिता रहेको थियो ।
बैठकमा मनसुनजन्य प्रकोपहरूबाट सम्भावित जोखिम कम गर्न सम्बन्धित निकायहरूलाई सतर्कता अपनाउन निर्देशन दिइएको छ । त्यस्तै, ग्लोबल नेपल्समार्फत सञ्चालित कार्यक्रमहरूको विवरण तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउने, नेपाल रेडक्रस सोसाइटीलगायतका संस्थाहरूले विपद् पूर्वतयारी विवरण समेत तीन दिनभित्र उपलब्ध गराउने निर्णय गरिएको छ ।
प्रत्येक संस्थाले समन्वयका लागि फोकल पर्सन तोकेर सम्पर्क विवरण प्रशासनमा बुझाउने सहमति पनि बैठकमा गरिएको छ । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको पुनरावलोकनमा नेपाल रेडक्रस सोसाइटी धनुषाले सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।
यसबाहेक, पालिकागत कार्यक्रम र संस्थागत विवरण सात दिनभित्र प्रशासन र सम्बन्धित निकायहरूलाई बुझाउने निर्णय गरिएको छ । डीपीआरपी अन्तर्गत रहेका विषयगत क्षेत्रका समन्वयकर्ताहरूले सम्बन्धित संस्थाको सहभागितामा बैठक आयोजना गर्ने सहमति पनि बैठकबाट निकालिएको छ ।
प्रमुख जिल्ला अधिकारी आचार्यले सबै सरोकारवाला निकायहरूलाई समयमै जिम्मेवारीपूर्वक अघि बढ्न निर्देशन दिँदै भने, ‘बाढी, डुवान जस्ता प्रकोपबाट जनधनको क्षति न्यूनीकरण सामूहिक जिम्मेवारी हो । तसर्थ, सबै मिलेर तयारी र प्रतिकार्यमा जुट्नुपर्छ ।’
बैठकमा सहभागी संघसंस्थाहरूले आगामी दिनमा सहकार्य, सूचना आदान–प्रदान र प्रभावकारी समन्वयमार्फत विपद् व्यवस्थापनलाई अझ सशक्त र व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


