जनकपुरधाम, १३ असार । जनकपुरधाम उपमहानगरपालिका–७ मा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजित बजेटलाई प्रभावकारी ढंगले खर्च गर्ने विषयमा सर्वदलीय बैठक सम्पन्न भएको छ ।

शुक्रबार वडाध्यक्ष निरज कुमार साह ‘मुन्ना’को अध्यक्षतामा सम्पन्न बैठकमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।

बैठकमा शिक्षा, स्वास्थ्य, सरसफाइ, अधुरा सडक, फोहर व्यवस्थापन, विद्युत विस्तारलगायतका विकास योजनामा बजेट केन्द्रित गर्ने प्रस्तावमा छलफल भएको हो ।

वडाध्यक्ष साहले वडाको समग्र विकासका लागि बजेट पारदर्शी, व्यवहारिक र जनताको प्रत्यक्ष आवश्यकतालाई सम्बोधन गर्ने योजनामा खर्च गरिने प्रतिबद्धता जनाए । ‘स्थानीय तहको आवश्यकता र जनअपेक्षाअनुसार योजना बनाइनेछ,’ उनले भने ।

बैठकमा सहभागी जनप्रतिनिधिहरूले बजेटको दुरुपयोग रोक्न सकसहित निगरानी बढाउनुपर्ने सुझाव दिएका थिए । उनीहरूले स्थानीय जनताको हितमा आधारित योजनालाई प्राथमिकता दिइनुपर्नेमा जोड दिए ।

वडा कार्यालयले चाँडै सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरी वडाबासीलाई योजना र बजेटबारे जानकारी दिने तथा कार्यान्वयन प्रक्रिया सुरु गर्ने जनाएको छ ।