विलासिता करको विरोधमा जनकपुरमा सुनचाँदी व्यवसायीको प्रदर्शन

जनकपुरधाम, १३ असार । सरकारले सुनमा लगाएको विलासिता कर र गरगहनामा मूल्य अभिवृद्धि कर (भ्याट) को विरोधमा जनकपुरधामका सुनचाँदी व्यवसायीहरू सडकमा उत्रिएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी संघ धनुषा तथा जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अगुवाइमा शुक्रबार व्यवसायीहरूले नगर परिक्रमा सहित विरोध प्रदर्शन गर्दै सरकारको निर्णय खारेज गर्न माग गरेका हुन् ।
सुनचाँदी व्यवसायीहरूको विरोध र्याली जनकपुरधामको सोनरपट्टीबाट सुरु भई भानुचोक, जनक चोक, रामचोक हुँदै पुनः सोनरपट्टीमै पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागी व्यवसायीहरूले ‘विलासिता कर खारेज गर’, ‘भ्याट खारेज गर’, ‘व्यवसायीमाथि अत्याचार बन्द गर’ जस्ता नाराहरू लगाएका थिए ।
नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाका उपाध्यक्ष राजीव कुमार साह ’चन्दन’ले सरकारको कर नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘सुन कानूनी रूपमा चल सम्पत्ति हो । त्यसमा विलासिता कर लगाउनुको कुनै औचित्य छैन । यो सिधै व्यवसायीमाथि उठीवास गराउने प्रयत्न हो ।’
उनले सरकारसँग तत्काल कर नीति फिर्ता लिन माग गर्दै व्यवसाय बन्दका कार्यक्रम जारी राखिने जानकारी दिए ।

सुनचाँदी व्यवसायीहरूले सरकारसँग सुनमाथिको विलासिता कर तुरुन्त हटाउनुपर्ने, हिरा र जवाहरातमा लगाइएको भ्याटमा पुनर्विचार गर्नुपर्ने र भन्सार शुल्क ६ प्रतिशतमै सीमित गरिनुपर्नेलगायतका तीन माग राखेका छन् ।
यीनै मागहरू सहित अहिले देशभरका सुनचाँदी व्यवसायीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरूले माग सुनुवाइ नभए सशक्त दबाबमूलक कार्यक्रमहरू अगाडि बढाइने चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

