सप्तरीमा स्थानीय कलाकारको रहस्यमय हत्या

सप्तरी, १२ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ निवासी ३२ वर्षीय स्थानीय कलाकार राजकुमार खंगको हत्या भएको छ ।
विहीबार बिहान डाक्नेश्वरी–८ र राजगढ गाउँपालिकाको सिमाना नजिकै रहेको पोखरीको किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक जीतेन्द्र कुमार बस्नेतका अनुसार मृतक राजकुमार खंगको घाँटीमा धारिलो हतियार प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले घटनाको प्रकृति हेर्दा हत्या राति नै भएको आशंका गरिएको जानकारी दिए ।
शव भेटिएपछि घटनास्थलमा तालिम प्राप्त डग स्क्वाडको समेत सहयोगमा अनुसन्धान तीव्र पारिएको छ । शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पठाइएको प्रहरीले जनाएको छ ।
राजकुमार खंग स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा सक्रियरूपमा सहभागी हुँदै आएका कलाकार थिए । परिवारका अनुसार उनी बुधवार बेलुकीदेखि सम्पर्कविहीन थिए । हत्या किन र कसले गर्यो भन्ने विषयमा अनुसन्धान जारी रहेको डीएसपी बस्नेतले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


