जनकपुरधाम, १२ असार । मधेश प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई लिएर सत्तारूढ दल जनमत पार्टीमै असन्तुष्टि चुलिँदै जाँदा विपक्षी मोर्चाले समेत कडा प्रतिवाद जनाउँदै बजेट छलफलमै सहभागी नहुने घोषणा गरेको छ ।

बिहीबार बसेको पाँच विपक्षी दलहरूको संयुक्त बैठकले रेडबुकमा बिचौलियाको प्रभाव र स्वार्थपरक योजनाहरू राखिएको आरोप लगाउँदै बजेटको कुनै पनि छलफलमा सहभागी नहुने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य युवराज भट्टराईका अनुसार बजेट निर्माण प्रक्रिया अपारदर्शी र पक्षपाती भएकाले त्यसप्रति प्रतिपक्षले अविश्वास प्रकट गरेको छ । ‘बजेट बिचौलियाको प्रभावमा बनेको देखियो, त्यसैले छलफलमा भाग लिने कुनै औचित्य छैन,’ सांसद भट्टराईले भने ।

विपक्षी मोर्चामा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, राप्रपा र नेपाल संघीय समाजवादी पार्टी रहेका छन् ।

सत्ताको नेतृत्व गरिरहेको जनमत पार्टी स्वयं असन्तुष्ट रहँदा र विपक्षीले बहिष्कार गर्ने निर्णय गरेपछि मधेश प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक बजेट विषयलाई लिएर उत्पन्न विवाद र राजनीतिक असहमतिका कारण स्थगित गरिएको हो । सभामुख रामचन्द्र मण्डलले प्रदेश सरकारकै आग्रहमा बैठक स्थगन गरिएको जानकारी दिए ।

‘सरकारको आग्रहमा बैठक अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि रोकिने निर्णय भएको हो,’ सभामुख मण्डलले भने ।

असार १ मा मधेश प्रदेश सरकारले बजेट प्रस्तुत गरेको थियो । तर, बजेट सार्वजनिक भएदेखि नै आलोचना र विवाद चुलिँदै आएको छ ।