जनकपुरधाम, १२ असार । मधेश प्रदेश सरकारको गौरवको आयोजना मानिएको विद्युतिय शवदाह गृहको निर्माणस्थलमा प्रदेशका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले बिहीबार स्थलगत निरीक्षण गरेका छन् ।

जनकपुरधामको गंगासागर पोखरीको डिलमा अवस्थित स्वर्गद्वार क्षेत्रको पछाडि करीब ३ कट्ठा क्षेत्रफलमा सो परियोजना निर्माण हुने जनाइएको छ ।

मन्त्री यादवसहितको निरीक्षण टोलीमा मन्त्रालयका निमित्त सचिव रामकुमार खंग, खानेपानी महाशाखाका इन्जिनियर लक्ष्मी पन्त, सम्झना लामिछानेलगायत प्राविधिक उपस्थित थिए । स्वर्गद्वार संरक्षण समितिका संरक्षक पवन सिंघानियाले टोलीलाई स्थलको अवस्था र प्रगतिबारे जानकारी गराएका थिए ।

मन्त्री यादवले यस आयोजनाले जनकपुरधामको वातावरणीय सौन्दर्य र सार्वजनिक सेवामा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘शवदाहमा काठको अत्यधिक प्रयोग रोकिएपछि जंगल जोगिन्छ, प्रदूषण कम हुन्छ र जनताको खर्च घट्छ । यो सामाजिक र वातावरणीय रूपमा क्रान्तिकारी योजना हो ।’

साढे दुई तले भवनमा बन्ने शवदाह गृहमा दुईवटा शवदाह ट्रली बेड, वेट स्क्रबर, भृन्चुरी स्क्रबर, धुवाँ नियन्त्रण चिम्नी, अस्थि व्यवस्थापन लगायत संरचना समावेश हुनेछन् । परियोजनाको चालु आर्थिक वर्षमै ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

निमित्त सचिव खंगका अनुसार परम्परागत विधिमा शवदाह गर्दा लाग्ने १०–१२ हजार खर्चलाई विद्युतिय प्रणालीले घटाएर ३ हजारसम्म ल्याउनेछ ।

सरकारले चालु आर्थिक वर्षमा विभिन्न जिल्लामा दर्जनौँ श्मशानस्थल निर्माण तथा सौन्दर्यीकरण गरिसकेको छ भने आगामी बजेटमा पनि यस्ता योजनालाई प्राथमिकता दिइएको छ ।

निर्माण सम्पन्न भएपछि शवदाह गृह जनकपुरधाम उपमहानगरपालिकालाई जिम्मा दिइनेछ । त्यसपछि कार्यविधि बनाई स्वर्गद्वार संरक्षण समितिमार्फत सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।