५० लाखको शिक्षा सम्मेलन, तर साक्षरता सूचीको पुछारमा मधेश

✍️कुमार भाष्कर
जनकपुरधाम, १२ असार । मधेश प्रदेश सरकारअन्तर्गत शिक्षा तथा संस्कृति मन्त्रालयले आयोजना गरेको ‘प्रथम राष्ट्रिय शिक्षा सम्मेलन–२०८२’ ले दुई दिनभित्र ५० लाख रुपैयाँ खर्च गर्यो । तर, यही प्रदेशका आठवटै जिल्ला राष्ट्रिय साक्षरता सूचकांकमा लगातार पुछारमै छन् । यस्तो पृष्ठभूमिमा खर्चिएको ‘शैक्षिक महोत्सव’ले शिक्षाको गुणस्तर बढायो कि शासन शैलीको प्रदर्शन ? यसबारे गम्भीर प्रश्न उठेको छ ।
मुख्यमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री, नीति आयोग पदाधिकारीलाई अगाडिका ड्यासमा राखेर शैक्षिक क्षेत्रका विज्ञहरूलाई पछिल्लो पंक्तिको सोफामा सीमित गरिएको दृश्यले नै सम्मेलनको प्राथमिकता देखाउँथ्यो । दुई दिन चलेको यो समारोहमा ‘आजु मिथिला नगरीया’ जस्ता नाचगानले ‘राष्ट्रगानको स्तर’ पुर्याएको मनोरञ्जन पनि कम थिएन ।
साक्षरता वृद्धिको दावी गर्ने सम्मेलनमा विषयगत अनुसन्धान, गम्भीर बहस र तथ्यमा आधारित प्रस्तुति कता हरायो? सेतो कपडामा झुण्ड्याइएको प्रोजेक्सन स्क्रिनले जवाफ खोज्नेलाई १० बुँदे घोषणापत्र थमाएर चुप लगाइयो ।
सम्मेलनको मिति १०–११ असार र आर्थिक वर्ष सकिन बाँकी १४ दिन । बुझ्न सकिने कुरा हो, असारे दौडधुप अन्तर्गत यो पनि ‘सच्याइयो’। सुन्दा लाग्छ अब केही दिनभित्रै खर्चको कागजी मिलान, बिल भरपाई, निकासा र भुक्तानी पनि सम्पन्न हुनेछ ।
गत वर्ष आयोजित जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई बजेट नदिएको मन्त्रालयले यस वर्ष पनि ‘लेटरप्याडमा लेखेरै’ आग्रह गर्दा अस्वीकार गरेको छ । मन्त्रालयका एक जना हाकिमलाई सोध्दा उहाँको जवाफ थियो, ‘सूचना हाकीमले दिएन भने आउँदैन, मन्त्रीज्यूलाई सोध्नुस् ।’ यो संवाद सम्भवतः सम्मेलन खर्च मिलाउने ‘किरिया’मा व्यस्तताका कारण छोट्याइएको हो ।
महोत्तरी जिल्ला साक्षरता दरमा ७७ जिल्लामध्ये ७६औं स्थानमा छ । त्यही जिल्लाबाट आएका मन्त्रीज्यू भने १ करोडको खुल्ला शैक्षिक पार्क, ५ करोडको ज्योमेट्री बक्स, ९ करोडको फस्र्टएड किट, ४ करोडको स्पोट्र्स किट वितरण गर्दै शैक्षिक क्रान्तिको सपना देखाइरहेका छन् ।
वाक्य–वाक्यमा विसङ्गति, योजनामै राजनीति
महोत्तरीको जलेश्वरमा १ करोडको शैक्षिक पार्क
कक्षा ७–९ का विद्यार्थीलाई ५ करोडको ज्योमेट्री बक्ससहित झोला
४ करोडको स्पोट्र्स किट
९ करोडको फस्र्टएड किट
४ करोडको शिक्षक तालिम
जातीय सम्मेलनमा २० लाख
यही सोच्दा जनकपुरका चोक–चोकमा गुञ्जिने पुरानै स्लोगन सम्झना आउँछ ‘कन्हा पर मोटरी, जय सियाराम’ । मन्त्रीज्यूहरू बजेटको मोटरमा चढ्दैछन् । तर, शिक्षाको गन्तव्य कहाँ पुग्दैछ त्यो भने अझै स्पष्ट छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


