सिरहामा बैंक लुटपाटमा संलग्न अभियुक्त पक्राउ

सिरहा, १२ असार । सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट ९ लाख लुटिएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले लामो समयपछि पक्राउ गर्न सफल भएको छ ।
पक्राउ परेका व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
लोहनीलाई सिरहा नगरपालिका–१७ खैरटोकाबाट पक्राउ गरिएको हो । उनी २०७९ साल फागुन १० गते मिर्चैया नगरपालिका–३ स्थित बतहा पुल नजिकै भएको सशस्त्र लुटपाट घटनाका मुख्य अभियुक्तमध्ये एक हुन् ।
घटनाको दिन ग्लोबल आइएमई बैंक मिर्चैया शाखाबाट ठूलो रकम लिएर आउँदै गरेका बैंकका कर्मचारी र सुरक्षा टोलीलाई लक्षित गर्दै लोहनीसहित चार जनाको समूहले मोटरसाइकलमा आएर पिस्तोल देखाएर रकम लुटेका थिए ।
इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी जवान निकेश खवासलाई समेत हातहतियार देखाएर कुटपिट गरिएको थियो । त्यसपछि उनीहरूले बैंक कर्मचारीसँग भएको करिब ९ लाख रुपैयाँ लुटी फरार भएका थिए ।
लुटपाटपछि भारतमा लुकेर बस्दै आएका लोहनी पछिल्ला दिनमा नेपाल फर्किएको सुराकीका आधारमा प्रहरीको टोलीले उनलाई सीमावर्ती क्षेत्र खैरटोकाबाट पक्राउ गरेको हो ।
हाल उनलाई जिल्ला अदालत सिरहामा पेस गरि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । बाँकी फरार अभियुक्तहरूका लागि पनि खोजी अभियान जारी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


