एनवाईईएफ जनकपुरको ५औं साधारण सभा सम्पन्न

जनकपुरधाम, १२ असार । नेपालिज याङ्ग इन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) जनकपुर च्याप्टरको पाँचौं वार्षिक साधारण सभा भव्य समारोहका साथ सम्पन्न भएको छ । सभाले नयाँ नेतृत्व चयन गर्दै आगामी वर्षलाई ‘युवा उद्यमशक्ति र नवप्रवर्तनको अभियान’ वर्षको रूपमा घोषणा गरेको छ ।
साधारण सभामा निवर्तमान अध्यक्ष डा. सोनु कुमारले संस्थाको अध्यक्षता चार्टर एकाउन्टेन्ट (सीए) राजीव कुमार रौनियारलाई हस्तान्तरण गरे । नयाँ कार्यसमितिले नव–उद्यमशीलता प्रवद्र्धन, नेतृत्व विकास, तालिम, नेटवर्किङ र लगानी पहुँच विस्तारलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
समारोहमा एनवाईईएफ राष्ट्रिय गभर्निङ काउन्सिलका अध्यक्ष कुशल सुन्दर श्रेष्ठ प्रमुख अतिथि थिए । उनले जनकपुर च्याप्टरको गतिशीलता, नवप्रवर्तनशीलता र युवा नेतृत्वको प्रशंसा गर्दै जनकपुरलाई उद्यमशीलताको गन्तव्य बनाउने विश्वास व्यक्त गरे ।
श्रेष्ठले भने, ‘जनकपुर च्याप्टरले जुन प्रकारको संस्थागत ऊर्जा र गतिविधि देखाएको छ । त्यो अन्य च्याप्टरहरूका लागि पनि प्रेरणा हो ।’
कार्यक्रममा संस्थाको स्थापनादेखि सशक्त संस्थागत विकासमा योगदान पुर्याएका डा. सोनु कुमारप्रति विशेष कृतज्ञता प्रकट गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष सीए राजीव कुमार रौनियारले संस्थाको भावी योजना प्रस्तुत गर्दै भने, ‘जनकपुरमा उद्यमशीलताको ऊर्जा अझ उजागर गर्न, स्टार्टअपहरूलाई तालिम, सञ्जाल र लगानीमा जोड्ने कार्यक्रम ल्याइनेछ ।’
साधारण सभाबाट चयन भएको नयाँ कार्यसमितिमा अध्यक्षमा सीए राजीव कुमार रौनियार, प्रथम उपाध्यक्ष नविन कुमार साह, द्वितीय उपाध्यक्ष दिपक कुमार शर्मा, निवर्तमान अध्यक्ष डा. सोनु कुमार (आइपीपी) र सदस्यहरूमा प्रियांशु साह, सुमित गुप्ता, सञ्जु नायक, विशाल कुमार साह, जय कुमार साह, शिव रतन साह रौनियार र निखिल साह रहेका छन् ।
नयाँ कार्यसमितिले आगामी वर्षमा स्टार्टअप सम्मेलन, लिडरशिप क्याम्प, उद्यमी तालिम र इनभेष्टर मिटजस्ता कार्यक्रम आयोजना गर्ने योजना सार्वजनिक गरेको छ । संस्थाले स्थानीय सरकार, व्यापार संघहरू, अन्तर्राष्ट्रिय साझेदार संस्था र शैक्षिक निकायहरूसँग सहकार्य गर्दै दीर्घकालीन रणनीति निर्माणमा समेत जोड दिने अध्यक्ष रौनियारले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


