जनकपुरधाम, १२ असार । नेपाल सरकारद्वारा लागू गरिएको नयाँ कर नीतिविरुद्ध असन्तुष्टि जनाउँदै मधेश प्रदेशका सुनचाँदी व्यवसायीहरूले अनिश्चितकालीन व्यवसाय बन्द गर्ने घोषणा गरेका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ मधेश प्रदेशले संयुक्त महासंघको निर्णयअनुसार असार १३ गते शुक्रबारदेखि सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकालीन रुपमा बन्द गर्ने जनाएको हो ।

महासंघका महासचिव मनिष रमन साहद्वारा जारी विज्ञप्तिमा सरकारको अव्यवहारिक कर नीतिले व्यवसायीहरू मारमा परेको भन्दै विरोधमा उत्रनुको विकल्प नरहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारद्वारा लागु गरिएको कर संरचना व्यवहारिक छैन । प्रदेश, जिल्ला, नगर तथा आम व्यवसायीहरूको लिखित तथा मौखिक सुझाव संकलनपछि संयुक्त महासंघले आन्दोलनको बाटो रोजेको हो ।’

महासंघका अध्यक्ष पवन कुमार ठाकुरले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले बाध्य भएर व्यवसाय बन्द गर्ने निर्णय गरिएको बताए । ‘सुनचाँदी व्यवसाय सामान्य करदाता होइन, यो हजारौं जनताको रोजगारीसँग जोडिएको क्षेत्र हो,’ ठाकुरले भने, ‘सरकारले नीति परिवर्तन नगरे उचित कदम चाल्न बाध्य हुनेछौं ।’

संयुक्त महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारीसमेत गरेको छ भने सम्पूर्ण व्यवसायीलाई आन्दोलनमा सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ ।

मधेश प्रदेशका अधिकांश सहरहरूमा सुनचाँदी व्यवसाय लामो समयदेखि स्थिर व्यापारको रूपमा रहेको छ । तर, पछिल्लो समयमा करको दर, दस्तुर र प्रणालीमा आएको परिवर्तनले व्यवसायमा संकट बढाएको व्यवसायीहरूको गुनासो छ ।