मधेशको बजेटमा बिचौलियाका योजना बढी, भिजनरी योजना हटाइयो : सीके राउत

जनकपुरधाम, ११ असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेश सरकारको आगामी वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै त्यसमा ‘बिचौलियाका टुक्रे योजनाहरू’ प्राथमिकतामा परेको आरोप लगाएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राउतले आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा पनि भिजनरी र दीर्घकालीन योजनाहरू बजेटबाट हटाइएकोप्रति आपत्ति जनाएका हुन् ।
उनले लेखेका छन्, ‘संघीयताको उपलब्धि भनेको कर्णाली प्रदेशमा अस्पताल वा रंगशालाजस्ता ठूला पूर्वाधार हुनु हो । तर, दुर्भाग्यवश मधेश प्रदेशमा अझै पनि ५–१० लाखका टुक्रे योजनाले रेडबुक भरिएको छ ।’
राउतकाअनुसार जनमत पार्टीले प्रदेशको समग्र विकासका लागि प्रस्ताव गरेका योजनाहरू बजेटमा समावेश नगरिएको र सट्टामा नाममात्रका योजनामा रकम छुट्याइएको छ ।

उनले संघीयताको औचित्यप्रति जोड दिँदै भनेका छन्, ‘संघीय प्रणाली नभएको भए अहिले पनि ५–१० लाखको योजना बनाउन सिंहदरबार धाउनुपथ्र्यो । तर, अहिले प्रदेश आफैंले आवश्यकता र प्राथमिकता निर्धारण गर्ने अधिकार पाएको छ ।’
मधेश प्रदेशमा त्यो संघीय अधिकारको प्रयोग जनमुखी नभइ बिचौलियामुखी बनेको राउतको आरोप छ । उनले जनमत पार्टीले संसदीय दल र पार्टीस्तरमै बजेट संशोधन वा अस्वीकृत गर्ने विषयमा छलफल गर्ने जनाएका छन् ।
यता, जनमत पार्टी संसदीय दलका नेता महेश यादवले कडा टिप्पणी गर्दै भनेका छन्, ‘अरू कुरा थाहा छैन तर यस्तो बजेट हामी पारित हुन दिँदैनौं ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


