जनकपुरधाम, ११ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारकै मातहतबाट रेडियो र टेलिभिजन सञ्चालन गर्ने तयारी गरेको छ ।

सरकारले यसका लागि आवश्यक बजेटसमेत विनियोजन गर्दै औपचारिक शुरुवातको संकेत दिएको छ ।

प्रदेश सरकारले एफएम रेडियो सञ्चालनका लागि २३ लाख र टेलिभिजनका लागि २७ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । हालै केही साता अघि नेपाल टेलिभिजनको प्रदेश ब्युरो स्थापना गर्ने सहमति जुटाइसकेको सरकारले अब आफ्नै सञ्चारमाध्यम सञ्चालन गर्ने बताएको हो ।

यद्यपि, सरकार आफैं रेडियो–टेलिभिजन सञ्चालनतर्फ उन्मुख भएपनि प्रदेशमा सञ्चारमाध्यमका लागि आवश्यक कानुनी संरचना र नीतिगत स्पष्टता भने अझै अभावमा छ । प्रदेशका सञ्चारकर्मी र सञ्चालकहरूलाई हालसम्म रेडियो, टेलिभिजन दर्ता तथा नवीकरणका लागि काठमाडौं धाउनु पर्ने बाध्यता कायमै छ ।

सञ्चार पूर्वाधार विस्तार र पहुँच सुनिश्चितता भन्दा पनि राज्यद्वारा सञ्चालित माध्यमको प्राथमिकता देखिएको यस योजनाप्रति कतिपय सञ्चार क्षेत्रका प्रतिनिधिहरूले आशंका पनि व्यक्त गरेका छन् ।