पत्रकारमाथि दुर्व्यवहारप्रति चौतारीको आक्रोश, मिडिया काउन्सिल सदस्य झामाथि कारबाहीको माग

जनकपुरधाम, ११ असार । स्वास्थ्य कार्यालय सर्लाहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छापा परेपछि उक्त घटनालाई लिएर समाचार प्रकाशन गरेका प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बख्तियार अलीमाथि भएको दुर्व्यवहार र धम्कीपूर्ण व्यवहारको विषयले विरोध सिर्जना गरेको छ ।
अलीले आफूले सञ्चालन गरेको अनलाइन सञ्चारमाध्यममा ‘स्वास्थ्य कार्यालय सर्लाहीमा अख्तियारको छापा’ शीर्षकमा समाचार प्रकाशित गरेपछि नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाकी उपाध्यक्ष एवम् मिडिया काउन्सिल सदस्य बन्दना झाले समाचार हटाउन दबाव दिँदै दुर्व्यवहार गरेकी थिइन् ।
उक्त घटनापछि प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप भएको भन्दै झामाथि तत्काल कारबाही गर्न माग गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन्, ‘प्रेस चौतारीका पदाधिकारी र पत्रकारमाथि दुर्व्यवहार हुनु निन्दनीय मात्र नभइ प्रेस स्वतन्त्रतामाथि खतरा हो । यसलाई सह्य गर्न सकिँदैन ।’
मिडिया काउन्सिलमा नियुक्त झा प्रेस चौतारी निकट नभएको प्रेस चौतारी मधेश प्रदेशका इन्चार्ज अच्युत पौडेलले दाबी गरेका छन् ।
प्रेस चौतारी नेपाल मधेश प्रदेशका अध्यक्ष शेख लालबाबुले समेत झाको नियुक्तिबारे पार्टी र संगठनलाई अत्तोपत्तो नभएको जनाउँदै, ‘यस्ता नियुक्ति एकलौटी ढंगले गरिएको’ भनेका छन् ।
प्रेस चौतारी निकटका पत्रकारहरूले राजनीतिक भागबण्डाको नाममा निष्पक्ष पत्रकारहरूलाई पाखा लगाएर झा जस्तालाई नियुक्त गरि प्रभावित पार्ने रणनीति स्वीकार्य नहुने बताएका छन् । उनीहरूले काउन्सिल सदस्य झामाथि तत्काल कारबाहीको माग उठाउन थालेका छन् ।
प्रेस चौतारीका महासचिव लामा भन्छन्, ‘समाचार डिलिट गर भनिएको व्यवहार अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन हो । यसमा संलग्न जो कोही भए पनि छानबिन र कारबाही हुनुपर्छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


