जनकपुरधाममा एकल महिला दिवस मनाइयो

जनकपुरधाम, ९ असार । ‘सहानुभूति होइन, माया र सम्मान गर’ भन्ने सन्देशसहित १५औं अन्तर्राष्ट्रिय एकल महिला दिवस सोमबार जनकपुरधाममा विविध कार्यक्रमसहित मनाइएको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा आयोजित कार्यक्रममा एकल महिलाको हक, अधिकार, सुरक्षासम्बन्धी सवालमा गम्भीर छलफल र बहस गरिएको थियो ।
कार्यक्रममा मानव अधिकारका लागि महिला–एकल महिला समूह धनुषाकी अध्यक्ष सुभद्रा आलेले भनिन्, ‘सरकारले एकल महिलाको अवस्था बुझ्नुपर्छ, उनीहरूलाई दया होइन, सम्मानसाथ आत्मनिर्भर बनाउने व्यवहारिक कार्यक्रम आवश्यक छन् ।’
उनले एकल महिला सुरक्षा कोषको पहुँच र प्रभावकारितामाथि प्रश्न उठाउँदै सरकारको नीतिगत असंवेदनशीलताको आलोचना गरिन् । कार्यक्रममा सहभागी महिलाहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा लक्षित नीति तथा कार्यक्रमको माग गरिन् ।
उनीहरूले आफूहरूको सामाजिक, आर्थिक र मानसिक अवस्थाको प्रतिनिधित्व गर्दै राज्यलाई स्पष्ट नीति र कार्यक्रम ल्याउन दबाब दिने संकल्प व्यक्त गरिन् ।
कार्यक्रम विमर्शमूलक, समावेशी र सहभागितामूलक रहेको आयोजक संस्थाले जनाएको छ । आयोजकका अनुसार यस दिवसले एकल महिलाको आवाज मुखरित गर्ने, समाजमा सकारात्मक दृष्टिकोण विस्तार गर्ने र नीतिनिर्मातालाई दायित्वबोध गराउने विश्वास लिइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


