सप्तरी, ९ असार । बालबालिकाको अधिकार संरक्षण र श्रमबाट मुक्त गराउने उद्देश्यले सप्तरीको खडक नगरपालिकाले ठोस कदम चालेको छ । चालु आर्थिक वर्षभित्र वडा नम्बर–८ लाई बालश्रममुक्त घोषणा गर्ने तयारी भइरहेको नगर प्रमुख जयप्रकाश चौधरीले जानकारी दिएका छन् ।

बालश्रम अन्त्यको अभियान अन्तर्गत नगरपालिकाले नीति निर्माणदेखि स्थलगत अनुगमनसम्मको प्रक्रिया अघि बढाएको छ । अनुगमन टोलीको नेतृत्व नगर उपप्रमुख तथा नगर बालअधिकार समिति संयोजक रिताकुमारी चौधरीले गरेकी थिइन् । टोलीले इँटाभट्टा, ग्रिल उद्योग, पोल्ट्री फर्म, होटल, पसल लगायत बालश्रमको सम्भावित स्थलहरूमा निरीक्षण गरेको थियो ।

नगर प्रमुख चौधरीका अनुसार, ‘वडाभित्र कुनै पनि बालबालिका श्रममा संलग्न नभएको पुष्टि भएपछि एक साता भित्रै वडा नम्बर–८ लाई बालश्रममुक्त वडा घोषणा गर्न लागिएको हो ।’

नगरपालिकाले यो अभियानलाई वडागत रूपमा चरणबद्ध गर्दै लैजाने योजना बनाएको छ । ‘हामीले वडा–८ बाट अभियानको थालनी गरेका छौं, अब क्रमशः बाँकी वडाहरूलाई पनि बालश्रममुक्त बनाउँदै सम्पूर्ण नगरपालिकालाई बालश्रममुक्त बनाउने लक्ष्य छ,’ चौधरीले भने ।

यस अभियानमा समुदाय, विद्यालय, अभिभावक र सरोकारवाला निकायसँग समन्वय गर्दै नगरपालिकाले सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ ।