श्याम कुमार ठाकुर
सिरहा, ९ असार ।
सिरहाको कर्जन्हा नगरपालिकाको १५औँ नगरसभा अधिवेशनले स्थानीय सुशासन, समावेशी विकास र उत्तरदायित्वप्रति स्पष्ट प्रतिबद्धता जाहेर गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्राथमिकताहरू तय गरेको छ ।

अधिवेशनको उद्घाटन मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमार यादवले गरेका छन् । उनले वातावरणमैत्री तथा समावेशी विकास योजनाहरू अघि सार्नुपर्नेमा जोड दिँदै स्थानीय तहहरूलाई संघीयताको मर्मअनुसार काम गर्न आग्रह गरे । ‘स्थानीय तहहरू नै विकासको मूल आधार हुन् । मधेशको समृद्धि यिनकै बलमा सम्भव छ,’ मन्त्री यादवले भने ।

नगर प्रमुख भोला प्रसाद पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि प्रवद्र्धन, सरसफाइजस्ता क्षेत्रमा हासिल उपलब्धि प्रस्तुत गरियो । प्रमुख पोखरेलले भने, ‘हामी जनताको जीवनस्तर उकास्न समर्पित छौं । योजनाहरू जनसहभागितामा आधारित हुनेछ ।’

नगरसभा अवधिभर महिला सदस्य र युवा प्रतिनिधिहरूले महिला सशक्तिकरण, सीप विकास, लघुवित्त पहुँच, रोजगारी सिर्जना र प्रवासी श्रमिकको सुरक्षा जस्ता विषयहरूमा आवाज उठाए । उपप्रमुखले यस्ता विषयलाई नीति निर्माणमै समावेश गर्ने प्रतिबद्धता जनाइन् ।

नगरसभामा स्थानीय समुदाय, सरोकारवाला संस्था र नागरिकहरूको उल्लेखनीय सहभागिता रह्यो । उनीहरूले बजेटको सदुपयोग, अनुगमन प्रणालीको मजबुती, पारदर्शिता र नागरिक सहभागिता सुनिश्चित गर्न माग गरे । एक स्थानीय बासिन्दाले भने, ‘हामी सेवाको गुणस्तर र कमजोर वर्गका लागि लक्षित कार्यक्रमको अपेक्षा राख्छौं । अब कार्यान्वयनमा गम्भीरता देखियोस् ।’

नगरसभाको समापनमा प्रमुख पोखरेलले भने, ‘कर्जन्हा सबैको साझा घर हो । सबैको आवाजलाई समेटेर हामी समृद्ध, उत्तरदायी र हरित नगरको दिशामा अघि बढ्नेछौं ।’