जनकपुरधाम, ९ असार । धनुषाको धनौजी गाउँपालिकाले उपप्रमुखको असहमति र एकल विरोधका बाबजुद ३५ करोड ६६ लाख रुपैयाँको बजेट पारित गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि गाउँसभाबाट बजेट पारित भएको हो ।

उपप्रमुख रामवती मण्डलले बजेटको विरोध गर्दै चालु आर्थिक वर्षको ‘फर्जी गाउँसभा’मा खर्च भएको रकम फिर्ता गर्नुपर्ने माग राखेकी थिइन् । उनका अनुसार सर्वोच्च अदालतले चालु वर्षको गाउँसभा खारेज गरिसकेको अवस्थामा त्यसपछि गरिएको अर्को गाउँसभा वैधानिक नभएको र सो सभामा खर्च गरिएको रकम फिर्ता नगरी नयाँ बजेटमा सहमति जनाउन नसकिने बताउँदै आएकी छन् ।

तर, उपप्रमुखको विरोधलाई बेवास्ता गर्दै अध्यक्ष राजकुमार साहले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेटलाई सभाबाट पारित गरिएको हो । बजेटमा गाउँपालिकाले ‘एक वडा, एक सहकारी’, पालिकास्तरीय रंगशाला र कभर्ड हल निर्माणको अध्ययन तथा जनकपुरधामसँग जोड्ने दुई लेनको पक्की सडक निर्माणजस्ता पूर्वाधार योजनाहरू समावेश गरेको छ ।

यस्तै, सिँचाइ र कृषिको विद्युतीकरण, १५ शय्याको अस्पताल निर्माण, ग्रामीण क्षेत्रका लागि अल्ट्रासाउन्ड सेवा र गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा जस्ता कार्यक्रमसमेत बजेटमा प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।

गाउँसभाको प्रक्रियामाथि उठेका प्रश्न र नेतृत्वबीचको मतभेदले आगामी बजेट कार्यान्वयनमा प्रभाव पर्ने देखिएको छ । उपप्रमुख मण्डलले औपचारिक रुपमा आफ्ना माग पूरा नभएसम्म सहकार्य असम्भव हुने बताएकी छन् ।