पर्सा, ९ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पर्सा जिल्लाको ठोरी गाउँपालिकाको स्थलगत अवलोकन गर्दै यस क्षेत्रलाई प्रदेशकै नमुना पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

सुविस्तृत प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक महत्त्व र पर्यटकीय सम्भावनाले भरिपूर्ण ठोरीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्न सकिने असीम सम्भावना रहेको मुख्यमन्त्री सिंहले बताए ।

गाउँपालिकाको आयोजनामा भएको स्वागत तथा संवाद कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्रीले स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा र सरोकारवालासँग प्रत्यक्ष छलफल गरेका थिए । छलफलका क्रममा उनले ठोरीको पर्यटन पूर्वाधार विकासका लागि साइक्लिङ ट्र्याक, जिपलाइन, होमस्टे, पदयात्रा मार्ग लगायतका संरचना निर्माणमा प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरे ।

मुख्यमन्त्री सिंहले ठोरीमा रहेको पर्यटकीय अवसरलाई व्यवस्थित गर्दै अन्तर्राष्ट्रिय स्तरमा मार्केटिङ र लगानी आकर्षण कार्यक्रमहरू अघि बढाइने स्पष्ट पारे । उनले ठोरीलाई मधेशकै नमुना पर्यटकीय गन्तव्य बनाउने अभियानमा सबैको सहकार्य आवश्यक रहेको भन्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतको उत्कृष्ट आतिथ्यता र स्थानीय सहभागिताका लागि धन्यवाद ज्ञापन गरे ।