मुख्यमन्त्रीको आकस्मिक छड्केः अवैध सवारी कर असुलीमा संलग्न ३ जना पक्राउ

पर्सा, ९ असार । पर्सा जिल्लाको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा अवैध सवारी कर असुली भइरहेको सूचनापछि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सोमबार आकस्मिक अनुगमन गरेका छन् । छड्के निरीक्षणका क्रममा तीन जनालाई ढाटमै नियन्त्रणमा लिइएको छ ।
मुख्यमन्त्री सिंहले पर्साको ठोरीमा आयोजना गरिएको कार्यक्रम सकेपछि फर्कने क्रममा सो सडकखण्डमा रहेका नयाँ राजस्व संकलन केन्द्रहरूको अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा केही ढाटहरूमा भारतीय नम्बर प्लेट भएका सवारीसाधनबाट तोकिएकोभन्दा बढी सवारी कर अनधिकृत रूपमा असुलिएको प्रमाण भेटिएपछि त्यहाँ कार्यरत तीनजनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूमाथि प्रारम्भिक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
स्थानीय व्यापारी, ट्रक चालक र सर्वसाधारणबाट बारम्बार आएको गुनासोलाई गम्भीर रूपमा लिँदै गरिएको यो छड्के अनुगमनलाई मुख्यमन्त्री सिंहले ‘शासन प्रणालीमा पारदर्शिता र नागरिकप्रति उत्तरदायित्व बहालीको अभ्यास’ भनेका छन् ।
उनले प्रदेश सरकारले यस्ता गैरकानुनी अभ्यासप्रति शून्य सहनशीलताको नीति लिने प्रतिबद्धता दोर्होयाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


