सूचना लुकाउने र सम्पत्ति बेच्ने वडाध्यक्षमाथि अख्तियार सक्रिय

सप्तरी, ८ असार । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–७ का वडाध्यक्ष हरिनारायण मण्डलविरुद्ध सरकारी सम्पत्ति हिनामिना प्रकरणमा उजुरी दर्ता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले प्रारम्भिक छानबिनमा तीव्रता दिएको छ ।
आयोगले वडा कार्यालय परिसरभित्र रहेका आँपका ४ र सभेदीका ६ वटा मूल्यवान वृक्ष तथा ४ थान पुराना काठका दराजहरू अवैध रूपमा बिक्री गरिएको आशंकामा प्रमाण संकलन प्रक्रिया शुरु गरिसकेको छ ।
अख्तियार स्रोतका अनुसार २०७९ असार २८ गते उजुरी दर्ता भएपछि आयोगको डिजिटल प्रणालीमा सो मुद्दा आधिकारिक रूपमा प्रविष्ट भइसकेको हो । प्रारम्भिक अनुसन्धान अन्तर्गत वडा कार्यालयसँग आवश्यक कागजात माग गरिनुका साथै स्थानीय प्रत्यक्षदर्शीहरूसँग बयान लिने काम शुरु भएको छ ।
स्थानीयवासीहरू भने वडाध्यक्ष मण्डलमाथि यसअघि पनि सार्वजनिक स्रोतको मनपरी प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । ‘वडामा भएको निर्णय, खर्च वा आय–व्ययको विवरण माग गर्दा समेत लुकाउने गरिन्छ,’ एक स्थानीयले भने, ‘हामी आशावादी छौं कि अख्तियारले निष्पक्ष छानबिन गर्छ ।’
यो घटनाले गाउँपालिकाका अन्य वडाध्यक्ष र कर्मचारीहरूलाई समेत सतर्क बनाएको छ । स्थानीय तहमा बढ्दो भ्रष्टाचारप्रति अख्तियारको निगरानी तीव्र भएको भन्दै आयोगका एक अधिकारीले भने, ‘हामी प्रमाणको आधारमा निष्पक्ष छानबिन गर्छौं । दोष प्रमाणित भएमा निश्चित रूपमा कानुनी कारबाही हुन्छ ।’
अख्तियारको पछिल्लो प्रतिवेदनअनुसार स्थानीय तहसँग सम्बन्धित उजुरीहरूको संख्या कुल उजुरीको ५० प्रतिशतभन्दा बढी रहेको छ । यस सन्दर्भमा आयोगले यस प्रकरणलाई नजीरका रूपमा लिने तयारीमा रहेको स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


