जनकपुरधाम, ८ असार । नेपाल ई–रिक्सा मजदुर संगठन धनुषाको आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले संगठनको केन्द्रीय कार्यालय स्थापनाको निर्णय सर्वसम्मतिले पारित गरेको छ ।

अध्यक्ष बिरेन्द्र कुमार महतोको अध्यक्षतामा बसेको बैठकमा संगठनको आगामी कार्यक्रम र रणनीतिहरूलाई संस्थागत ढाँचामा अघि बढाउने निर्णय गरिएको हो ।

बैठकमा संगठनको तर्फबाट एक कार्यविधि पत्र तयार पारेर सम्बन्धित सरकारी निकाय तथा सरोकारवाला संस्थाहरूसमक्ष बुझाउने निर्णय पनि गरिएको छ । अध्यक्ष महतोले भने, ‘ई–रिक्सा चालक मजदुरहरूको पेशागत सम्मान, अधिकार र सामाजिक सुरक्षा सुनिश्चित गर्न अब योजनाबद्ध रूपमा अघि बढ्नेछौं । केन्द्रीय कार्यालय स्थापनाले संस्थागत सुदृढीकरणमा ठूलो योगदान पुर्याउनेछ ।’

बैठकमा सहभागी सदस्यहरूले ई–रिक्सा क्षेत्रलाई व्यवस्थित, सुरक्षित र वैधानिक रूपमा स्थापित गर्न सामूहिक प्रतिबद्धता जनाए । संगठनले चाँडै सडक सुरक्षामा सुधार, चालकको बीमा, सामाजिक सुरक्षा र व्यावसायिक प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।

धनुषा जिल्लामा ई–रिक्सा चालकहरूको उल्लेख्य संख्या रहे पनि उनीहरू अझैसम्म ठोस कानुनी संरक्षकत्व र सामाजिक सुरक्षाबाट वञ्चित छन् ।

ई–रिक्सा व्यवसायलाई सम्मानजनक र सुरक्षित बनाउन संगठनले राज्यका सबै तहसँग समन्वयमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।