जनकपुरधाम, ८ असार । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागको हुलाक निर्देशनालय, धनुषाले जनकपुरधाममा स्थानीय हुलाक प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जनकपुरधामस्थित मानव स्रोत विकास तथा प्रविधि परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा हुलाक सेवा प्रवाहमा देखिएका समस्याहरू, प्रविधिको प्रयोग, सेवा अभिवृद्धि तथा सुधारका उपायबारे गहिरो छलफल गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता निर्देशनालयका निर्देशक लाल झाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा धनुषा जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डलको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै निर्देशक झाले स्थानीय तहहरूसँगको सहकार्य हुलाक सेवाको सुधारको मुख्य आधार भएको उल्लेख गर्दै, ‘प्रतिनिधिहरूबाट आएका व्यवहारिक सुझावहरूलाई आगामी नीति निर्माणमा समावेश गरिनेछ,’ भन्ने प्रतिबद्धता व्यक्त गरे ।

सभापति मण्डलले हुलाक सेवा समय सापेक्ष बनाउन प्रविधिको अधिकतम प्रयोग, संरचनागत सुधार तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखे ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न स्थानीय हुलाक कार्यालयका प्रतिनिधिहरूले सेवा प्रवाहमा देखिएका अवरोधहरू, जनशक्ति अभाव, सामग्री ढुवानी प्रणालीको जटिलता र स्थानीय तहसँग समन्वयको चुनौतीबारे आफ्ना अनुभवहरू प्रस्तुत गरे ।

कार्यक्रमको निष्कर्षस्वरूप प्रविधिमा आधारित सेवाको विस्तार, नीतिगत सुधार र स्थानीय तहसँग समन्वयका माध्यमबाट हुलाक सेवालाई अझ प्रभावकारी बनाउने सुझाव दिइएको छ । कार्यक्रम हुलाक निर्देशनालय धनुषाको आयोजनामा सम्पन्न भएको हो ।