पर्सामा स्रोत नखुलेको ३ लाख ४६ हजारसहित भारतीय नागरिक पक्राउ

पर्सा, ८ असार । पर्सा प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्ति भारत बिहार राज्यको मोतिहारी जिल्लास्थित रक्सौल–१७ का प्रभु साह हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले साहलाई साइकलमा सवार अवस्थामा चेकजाँच गर्दा नगदसहित पक्राउ गरेको हो । साहको साथबाट एक हजार दरका ३४४ थान र सय दरका २० थान गरी जम्मा ३ लाख ४६ हजार नेपाली रुपैयाँ फेला परेको प्रहरीको दाबी छ ।
पक्राउ परेका साहसँग उक्त नगदको आधिकारिक स्रोत नखुलेपछि रकम हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान थालेको छ । अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धानलाई अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रवक्ता लम्सालका अनुसार पछिल्लो समय सीमावर्ती क्षेत्रहरू हुँदै हुने अवैध वित्तीय कारोबार, विशेषगरी हुण्डीका गतिविधिहरू बढिरहेका छन् । त्यसमाथि नियन्त्रण गर्न चेकजाँच, निगरानी र सूचनाका आधारमा कारबाहीलाई सघन बनाइएको पनि प्रहरीले स्पष्ट पारेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

