–ज्योति झा
जनकपुरधाम, ७ असार ।
मिथिलाञ्चलको सांस्कृतिक राजधानीका रूपमा परिचित रामजानकीको पवित्र भूमि जनकपुरधाम अहिले अस्तव्यस्त ट्राफिक, अव्यवस्थित सडक, नगरप्रहरीको अनियन्त्रित दमन र सरोकारवाला निकायबीचको समन्वयहीनताका कारण कुरुप बन्दै गएको देखिएको छ ।

कहिल्यै नथाक्ने जाम, कहिल्यै नटुक्किने धूलो र पटकपटक दोहोरिने प्रशासनिक मौनताले शहरको सौन्दर्य र नागरिकको जीवनस्तर दुवै खस्किंदै गएको देखिन्छ ।

जनकपुरधामका अधिकांश चोकहरूमा ट्राफिक लाइट त छन्, तर तिनको अवस्था शोभामात्र बनेको देखिन्छ । कहिले काम गर्छन्, कहिले बन्द हुन्छन् । त्यसैको मारमा यहाँका सवारी चालक र पैदल यात्रुहरू छन् । मुरली चोक, भानु चोक, शिवचोक लगायतका मुख्य क्षेत्रहरूमा लाइट अव्यवस्थित हुँदा जोखिम थपिएको स्थानीय रुबी झा बताउँछिन् । उनी भन्छिन्, ‘यहाँ ट्राफिक लाइटहरू नाम मात्रैका छन् । व्यवस्थापनभन्दा झन् अन्योल थप्ने काम गर्छन् ।’

जनकपुरधामका ट्राफिक पोस्टहरू नियम कार्यान्वयनभन्दा ‘चयनात्मक चेकिङ’मा सीमित देखिन्छन् । स्थानीय सिमा चौधरी भन्छिन्, ‘कतिपय अवस्थामा हतारमा रहेका चालकलाई रोक्छन् । तर, हेलमेट नलगाउने वा ट्राफिक उल्लंघन गर्नेहरूलाई छोडिदिन्छन् ।’

नगर प्रहरीको कार्यशैलीसमेत आलोचनाको केन्द्रमा छ । हिजोआज हातठेला र सडकछेउका साना व्यापारीहरूलाई हटाउने अभियान चलाइए पनि केही दिनमै स्थिति फेरि पुरानै अवस्थामा पुग्छ । तमलोपा नेतृ विभा ठाकुर भन्छिन्, ‘साना व्यापारीलाई हटाउने नाममा ताण्डव देखाइन्छ । तर, दीर्घकालीन योजना छैन । यो जनतालाई हैरानी दिने शैली हो ।’

जनकपुरधाममा पार्किङ समस्या, फुटपाथ अतिक्रमण, सडक फोहोर जस्ता मुद्दा कुनै नयाँ होइन । तर, यसको दीर्घकालीन समाधान खोज्ने इच्छाशक्ति स्थानीय निकायमा देखिँदैन । स्थानीय विन्दु ठाकुर भन्छिन्, ‘उपमहानगरपालिका योजनाविहीन छ । अभियान चलाउँछ, तर त्यसको निरन्तरता हुँदैन । जनकपुरधामलाई साँच्चै व्यवस्थित बनाउन प्रतिबद्धता र काम दुबै चाहिन्छ ।’

यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाही भन्छन्, ‘हामीले ट्राफिक व्यवस्थापन सुधार गर्न प्रयास गरिरहेका छौं । कतिपय ट्राफिक लाइटहरू प्राविधिक कारणले अवरुद्ध छन्, जुन मर्मतको प्रक्रियामा छन् । चेकप्वाइन्टहरूलाई नियमित पार्न र पारदर्शिता कायम गर्न निर्देशन दिइएको छ ।’

उनका अनुसार जनकपुरधामको ट्राफिक समस्या केवल प्रहरीको मात्रै नभई सबै निकायको साझा जिम्मेवारी हो । ‘उपमहानगरपालिका, नगर प्रहरी र हामी सबैको समन्वय आवश्यक छ,’ शाही भन्छन् ।

जनकपुरधाममा सदैव क्रियाशील ट्राफिक लाइटको व्यवस्था, नियमित र निष्पक्ष ट्राफिक चेकिङ, व्यवस्थित पार्किङस्थल र ठोस फुटपाथ निर्माण, नगर प्रहरीको दीर्घकालीन कार्ययोजना, उपमहानगरपालिकाको सक्रिय समन्वय र स्थानीय व्यापारी, बासिन्दा र प्रशासनबीचको सहकार्य तत्काल आवश्यक देखिएको स्थानीय सुभाष कर्णको भनाइ छ ।