रौतहट, ७ असार । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

रामदासी गाउँका २२ वर्षीय सावल कुशवाहाको शुक्रबार राति आफ्नै खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद यादवका अनुसार खेतमा सिँचाइका लागि पानी तान्न उनले बिजुलीको पोलबाट मेसिनमा तार जडान गर्ने प्रयास गरिरहेका थिए । सो क्रममा करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

मृतकको शवलाई पोस्टमार्टमका लागि चन्द्रनिगाहपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय विजयपुरले जानकारी दिएको छ ।

प्रहरीले खेतमा विद्युत् प्रयोग गर्दा आवश्यक सावधानी नअपनाउँदा दुर्घटना हुने सम्भावना बढी हुने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।