धनुषामा सम्बन्धविच्छेदका घटनामा वृद्धि, वैदेशिक रोजगारीदेखि घरेलु हिंसासम्म कारण

जनकपुरधाम, ७ असार । धनुषा जिल्लामा पछिल्ला केही वर्षयता वैवाहिक सम्बन्ध विच्छेदका घटनामा उल्लेख्य वृद्धि भएको छ ।
परम्परागत समाजका लागि चोखो मानिने वैवाहिक सम्बन्ध अहिले असहिष्णुता, हिंसा, स्वार्थ र दूरीको चपेटामा पर्दै विघटनको बाटोमा उन्मुख देखिएको छ ।
सामाजिक संरचना, प्रविधिको प्रभाव, शिक्षा र अधिकारप्रति सचेतताको विकाससँगै सम्बन्धविच्छेद एक आम कानुनी प्रक्रिया बन्दै गएको तथ्यांकले देखाउँछ ।
१. गणेशमान चारनाथ नगरपालिकाका महेश (नाम परिवर्तन) वैदेशिक रोजगारीमा तीन वर्ष बिताएर जब घर फर्किए उनले पाएका दृश्य झनै पीडादायक थिए । उनकी पत्नी अनिता (नाम परिवर्तन) आफ्नै २१ वर्षीय भतिजसँग प्रेम विवाह गरेर घर छाडिसकेकी थिइन् । अनिताले सामाजिक सञ्जालमा प्रेम सम्बन्धको तस्बिर र भिडियोहरू समेत पोस्ट गरेपछि महेश मानसिक रूपमा विछिप्त भए । अन्ततः उनले २०८१ भदौ ३० गते जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरे । माघ २३ गते अदालतले महेशको पक्षमा फैसला सुनाउँदै वैवाहिक सम्बन्धको विधिवत अन्त्य गर्यो ।
२. क्षिरेश्वरनाथ नगरपालिकाकी आरजुले (नाम परिवर्तन) २०७५ मंसिर २९ गते २८ लाख रुपैयाँ बराबरको दाइजोसहित विवाह गरिन् । तर, विवाहपछिका ६ महिनामै श्रीमान् वैदेशिक रोजगारीमा गए । फर्किएपछि पनि आरजुलाई कुटपिट, गालीगलौज, खानपिनमा अपमानजनक व्यवहार झेल्नुपर्यो । २०७९ जेठ ३१ गते उनले सम्बन्धविच्छेदको मुद्दा दायर गरिन् । जिल्ला र उच्च अदालत दुबैले आरजुको पक्षमा फैसला गरेपछि सम्बन्ध कानुनी रूपमा अन्त्य भयो ।
३. धनुषाधाम नगरपालिकाकी सविता (नाम परिवर्तन) को मागी विवाह २०७६ फागुन २३ मा सरोजसँग (नाम परिवर्तन) भयो । तर, विवाहपछि श्रीमान् रक्सी, गाँजा सेवन गर्दै उनलाई शारीरिक र मानसिक यातना दिन थाले । विवाह दर्ता, नागरिकता वा कुनै कानुनी प्रमाणपञ् समेत नदिई उनलाई अस्तित्वविहीन बनाइयो । सन्तान नभएको बहानामा घरबाट निकालिएपछि सविताले २०८० असोज १५ मा अदालतमा सम्बन्धविच्छेद मागिन् । श्रीमानले कुनै उत्तर नदिएपछि अदालतले सविताको पक्षमा फैसला गर्यो ।
धनुषा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको जेठ ३० गतेसम्म मात्रै २७५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । तीमध्ये १४४ वटाको टुंगो लागिसकेको छ भने १३१ मुद्दा विचाराधीन छन् । आर्थिक वर्ष २०७५/७६ यता १ हजार ४५५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । त्यसमा १ हजार २८४ मुद्दाको छिनोफानो भइसकेको छ भने १७१ अझै बाँकी छन् । औसतमा हरेक महिना १७ भन्दा बढी वैवाहिक सम्बन्ध अदालतको शरणमा पुगेका छन् । यो सामाजिक रूपान्तरण र सम्बन्धहरूको जटिलता दुवैको संकेत हो ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवम् अधिवक्ता रामविलास यादव भन्छन्, ‘सामाजिक दृष्टिमा सम्बन्धविच्छेद नकारात्मक ठानिए पनि मानवअधिकारको दृष्टिमा यो स्वतन्त्रताको अभिव्यक्ति हो ।’
उनका अनुसार शिक्षा, रोजगारी, आर्थिक उन्नति र सामाजिक सञ्चारमाध्यमले महिलामाझ आत्मचेतना बढाएको छ । महिलाहरू आफ्ना अधिकारका लागि बोल्न थालेका छन् र अन्याय सहनुपर्ने पुरानो सोच अब क्रमशः कमजोर हुँदै गएको छ ।
‘पुरुष होस् वा महिला यदि सम्बन्धमा शारीरिक, मानसिक वा आर्थिक हिंसा छ भने सम्बन्धविच्छेद आत्मरक्षा र आत्मसम्मानको उपाय हो,’ अधिवक्ता यादवको टिप्पणी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

