जनकपुरधाम, ७ असार । ‘सुरक्षित सडक, सुरक्षित मधेश प्रदेश’ भन्ने मूल नाराका साथ जनकपुरधाममा सडक दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासन प्रवद्र्धनका उद्देश्यले सडक सुरक्षा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

मधेश प्रदेश सरकार अन्तर्गत श्रम तथा यातायात मन्त्रालयको निर्देशन तथा यातायात व्यवस्था कार्यालय जनकपुरधामको आयोजनामा ट्राफिक प्रहरी र स्थानीय तहको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख धनञ्जय कुमार सिंहले गरेका थिए भने श्रम तथा यातायात मन्त्री कौशल किशोर राय प्रमुख अतिथिका रूपमा सहभागी थिए । विशिष्ट अतिथि मन्त्रालयका सचिव युवराज अधिकारी रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायले सडक दुर्घटनालाई ’नियति’ को रूपमा स्वीकार्नुको सट्टा सचेत प्रयासद्वारा न्यूनीकरण गर्न सकिने बताए ।

‘सडक सुरक्षा हाम्रो जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो । ट्राफिक नियमको पालनामा हामी सबैको साझा दायित्व छ,’ मन्त्री रायले भने ।

उनले प्रदेशमा दुर्घटनाको दर घटाउन सम्बन्धित सबै निकायहरूबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तह, विद्यालय र सामाजिक संघ–संस्थाको सहकार्यमा व्यापक जनचेतना फैलाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी वक्ताहरूले ट्राफिक अनुशासन, जनसहभागिता, दुर्घटना न्यूनिकरण उपाय र सुरक्षित यात्राका विविध पक्षमाथि धारणा राखेका थिए ।