सर्लाहीमा सडक विस्तारको विवादले उग्र रूप लिँदा झडप, प्रहरी निरीक्षकसहित चार जना घाइते

सर्लाही, ७ असार । सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा शनिबार बिहान सडक विस्तारका क्रममा उत्पन्न विवादले उग्र रूप लिँदा स्थानीयवासी र सुरक्षाकर्मीबीच झडप भएको छ ।
झडपमा इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दीवाकर गणेशसहित चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी बालिष्टर सिंहका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायरसमेत गर्नु परेको थियो ।
‘प्रहरी निरीक्षक गणेश झडप नियन्त्रणको प्रयासमा घाइते भएका छन् भने बाँकी तीन जना स्थानीयवासी आपसी झडपका क्रममा घाइते भएका छन्,’ उनले भने ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि तत्काल अस्पताल पठाइएको छ । यद्यपि घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै स्थिति थप बिग्रन नदिन डिएसपीको नेतृत्वमा इलाका प्रहरी कार्यालय बरहथवाबाट थप सुरक्षाकर्मी तथा सशस्त्र प्रहरी बल खटाइएको छ । अहिले स्थिति नियन्त्रणमा रहेको र अवस्था क्रमशः सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।
स्थानीयकाअनुसार बिहीबार सडक विस्तारकै क्रममा स्थानीय केही पुरुष र महिलाले एउटी महिलामाथि गरेको आक्रमणको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि समुदायमा चर्किएको असन्तुष्टि शनिबार झडपको कारण बनेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


