जनकपुरधाम, ७ असार । गत जेठ २८ गतेदेखि असार ६ गतेसम्म जनकपुरधाममा आयोजित राष्ट्रिय आचार्य प्रशिक्षण वर्ग २०८२ को समापन समारोह भव्य र सफलतापूर्वक सम्पन्न भएको छ ।

समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका जानकी मन्दिरका उत्तराधिकारी महन्त रोशन दासको उपस्थितिले कार्यक्रमलाई विशेष गरिमा प्रदान गरेको आयोजकले बताए ।

महन्त दासले समापन समारोहलाई सम्बोधन गर्दै भने, ‘आजको समाजलाई नैतिक, धार्मिक र सांस्कृतिक मूल्यमान्यतामा बाँध्न आचार्यहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ । तपाईंहरू धर्मको आधारशिला हुनुहुन्छ,’ महन्त दासले भने, ‘संस्कारयुक्त समाज निर्माणको नेतृत्व तपाईंहरूले गर्नुहुन्छ । यस प्रशिक्षणले त्यस दिशामा तपाईहरूलाई मार्गदर्शन गरेको छ भन्ने मेरो विश्वास छ ।’

समारोहमा प्रशिक्षण अवधिभर भएका विभिन्न सत्रहरूको समीक्षा गर्दै आयोजकले आचार्यहरूलाई प्रदान गरिएको ज्ञान, कौशल, अनुशासन र व्यवहारिक शिक्षाको महत्वमाथि प्रकाश पारेका थिए । सहभागीहरूले धार्मिक विधि, उपदेश कला, आचरण र नेतृत्व क्षमताका विविध पक्षमा प्रशिक्षण लिएको जनाइएको छ ।

कार्यक्रमको आयोजना धार्मिक, सांस्कृतिक र सामाजिक मूल्यको संरक्षण र विस्तारमा आचार्यहरूको सशक्त भूमिका सुनिश्चित गर्न गरिएको हो ।

समापनमा सहभागी आचार्यहरूले प्रशिक्षणबाट आफूले पाएको मार्गदर्शन जीवनभर स्मरणीय रहने जनाउँदै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।