हंसपुरका नगरप्रमुखविरुद्ध कार्यपालिका सदस्यको विद्रोह

जनकपुरधाम, ७ असार । धनुषा जिल्लाको हंसपुर नगरपालिकामा कार्यपालिका सदस्यहरूले नगर प्रमुख प्रदीप यादवविरुद्ध खुला विद्रोह घोषणा गरेका छन् ।
प्रमुख यादवमाथि नगरसभा सञ्चालन प्रक्रियामा कानुनी उल्लंघन, प्रशासनिक मनोमानी, योजनागत भ्रष्टाचार र बजेट वितरणमा एकल स्वार्थ अपनाएको आरोप लगाइएको छ ।
उपप्रमुख दुर्गी देवी मण्डलको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यादवको पछिल्लो निर्णयहरूलाई अस्वीकार गर्दै संविधान र स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरसभा सञ्चालन गर्न चेतावनी दिएको छ । बैठकमा सहभागी १२ जना सदस्यहरूले नगर प्रमुखको ‘एकल सत्ता’ शैली नगर सरकारको मूल मर्मविपरीत रहेको ठहर गरेका छन् ।
आक्रोशित सदस्यहरूले नगर प्रमुख यादवको सरकारी सवारीसाधनको हावासम्म निकालेका थिए ।
संविधानको धारा २१७, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा ५३ र नगरसभा कार्यविधिअनुसार बजेट निर्माण तथा नगरसभा सञ्चालनका लागि विभिन्न चरणको तयारी प्रक्रिया आवश्यक हुन्छ । त्यसअनुसार, स्रोत अनुमान, वडागत योजना संकलन, प्राथमिकता निर्धारण, बजेट तर्जुमा र कार्यपालिका बैठकको स्वीकृति प्राप्त गरी मात्र नगरसभामा प्रस्तुति दिनुपर्ने कानुनी प्रावधान छ ।
तर, नगर प्रमुख यादवले यी आवश्यक प्रक्रिया बेवास्ता गर्दै नगरसभा एकलरूपमा सञ्चालन गर्न खोजेको कार्यपालिका सदस्यहरूको आरोप छ । उनीहरूका अनुसार न योजना, न सहभागिता नगर प्रमुखको सोच ‘म बोल्छु, सबैले सुन’ जस्तो अधिनायकवादी भएको छ ।
कार्यपालिका सदस्यहरूको संयुक्त वक्तव्यमा नगरपालिकाको बजेट र योजना एक सीमित घेरामा सीमित गरिएको उल्लेख छ । उनीहरूले नगर प्रमुखमाथि निश्चित ठेकेदारहरूलाई लाभ पुग्ने गरी योजना बनाउने, सार्वजनिक सुनुवाई बेवास्ता गर्ने र प्रतिवेदन प्रक्रिया निष्क्रिय पार्ने आरोप लगाएका छन् ।
‘हामी संविधान र कानुनअनुसार सञ्चालन हुने स्थानीय सरकार चाहन्छौं, मेयरको निजी कम्पनीजस्तो चल्ने नगरपालिका होइन,’ कार्यपालिका सदस्य राजेश सक्शेनाको भनाइ छ ।
स्थानीय बासिन्दाहरू पनि नगर प्रमुखको कामप्रति असन्तुष्ट देखिएका छन् । उनीहरू भन्छन्, ‘हामीले विश्वास गरेर मतदान गर्यौं । तर, अहिले योजनामा हाम्रो सरोकार छैन । बजेट कहाँ खर्च भयो भन्ने जनताले थाहा पाउँदैन ।’
प्रमुख यादवका कारण हंसपुर नगरपालिकाको आगामी नीति, कार्यक्रम र बजेट अन्योलमा परेको आरोप लगाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

