जनकपुरधाम, ७ असार । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा ग्राण्ड कम्प्युटर एण्ड ल्याङ्ग्वेज सेन्टर जनकपुरधामले कविर बाल वात्सल्य आश्रमका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ ।

सेन्टरका सञ्चालक प्रमोद कुमार पण्डितका अनुसार कम्प्युटर सेन्टरमा अध्ययनरत विद्यार्थीहरूबाट संकलित सामग्रीहरू खाना पकाउने ग्यास सिलिन्डर, आलु, प्याज, चिनी, बिस्कुटलगायतका खाद्य सामग्री तथा कापी किताब आश्रममा प्रदान गरिएको हो ।

‘योग दिवसले स्वास्थ्य र अनुशासनको सन्देश दिन्छ । हामीले त्यसै सन्देशलाई आत्मसात गर्दै थोरै भए पनि सहयोग गर्ने प्रयास गरेका हौं,’ पण्डितले भने । उनका अनुसार सहयोगले आश्रममा बसोबास गरिरहेका बालबालिकाको स्वास्थ्य तथा अध्ययनमा केही राहत पुग्ने विश्वास गरिएको छ ।

कविर बाल वात्सल्य आश्रममा हाल करिब डेढ दर्जन बालबालिका आश्रित छन् ।। उनीहरूको दैनिक आवास, पोषण र शिक्षाको व्यवस्थापन आश्रमकै पहलमा हुँदै आएको छ । आश्रमले सहयोगप्रति आभार व्यक्त गर्दै अन्य संस्थाहरूमाझ पनि यस्तै मानवीय भावना विस्तार होस् भन्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममार्फत योग दिवसको सामाजिक महत्व उजागर गर्दै विद्यार्थीहरूमा सेवा भावना र सामाजिक चेतना बढाउने उद्देश्य रहेको आयोजकको भनाइ छ ।

‘सामाजिक उत्तरदायित्वमा विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता गराएर उनीहरूमा मानवीयता र संवेदना विकास गर्न सकियो भने त्यो शिक्षा भन्दा कम महत्वपूर्ण हुँदैन,’ पण्डितले भने ।