भुक्तानी प्रक्रिया असार १५ भित्र सक्न सम्बन्धित पक्षलाई ताकेता

पर्सा, ५ असार । वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ अन्त्य नजिकिँदै गर्दा सम्पूर्ण योजना तथा कार्यक्रमको भुक्तानी प्रक्रिया असार १५ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने कडा निर्देशन दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णद्वारा जारी औपचारिक पत्रमार्फत यो निर्देशन सार्वजनिक गरिएको हो ।
महानगरका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम ७ को पालना गर्न सबै कार्यालय, शाखा, वडा कार्यालय, निर्माण व्यवसायी र उपभोक्ता समितिलाई निर्देशित गरिएको छ ।
प्रशासकीय प्रमुख कर्णकाअनुसार आर्थिक वर्ष समाप्त हुनुअघि कम्तीमा ७ दिन अगावै सबै भुक्तानी प्रक्रिया सक्नुपर्ने कानुनी प्रावधान रहेकोले असार १५ लाई अन्तिम समयसीमा तोकिएको हो । असार महिनामा कामको चाप, सर्भर समस्या वा प्राविधिक कारणले ढिलाइ हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो ।
‘निर्धारित म्यादभित्र फाइल पेस नगर्ने वा प्रक्रिया पूरा नगर्ने जिम्मेवारी महानगरपालिका लिन सक्दैन,’ कर्णको निर्देशनमा उल्लेख छ ।
महानगरपालिकाले जारी गरेको निर्देशनमा सबै महाशाखा, शाखा, ३२ वडाका कार्यालय, निर्माण व्यवसायी, र उपभोक्ता समिति समेटिएका छन् । भुक्तानीको लागि आवश्यक कागजातहरू समयमै पेश गर्न र तोकिएको म्यादभित्र कार्य सम्पन्न गर्न आग्रह गरिएको छ ।
अघिल्ला वर्षहरूमा भुक्तानी प्रक्रियामा ढिलाइ, कागजी फाइलहरू समयमा नपुग्ने, प्रणाली गडबडी जस्ता समस्या देखिँदै आएकोमा यसपटक समयमै तयारी गर्न महानगर सक्रिय देखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


