जनकपुरधाम, ५ असार । धनुषाको मिथिला नगरपालिका–१ ढल्केबरमा खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

करेन्ट लागेर ज्यान गुमाउने ५० वर्षीया मङ्गलीदेवी महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले पुष्टि गरेको छ ।

प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार मङ्गलीदेवी तरकारीबारीमा काम गर्ने क्रममा खेतको छेउमा जडान गरिएको तारमा छोएपछि घटनास्थलमै मृत्यु भएको हो ।

खेतबारीमा बाली जोगाउन केही किसानहरूले जङ्गली जनावरबाट रक्षा गर्न विद्युत प्रवाह गरिएका तारहरू प्रयोग गर्दै आएकोमा त्यसै कारण यो दुःखद दुर्घटना भएको प्रहरीले जनाएको छ ।

‘तरकारी बाली नष्ट नहोस् भनेर केही किसानहरूले विद्युतीय तार तानेका छन्, मङ्गलीदेवीले काम गर्ने क्रममा त्यही तार छोएपछि करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भयो,’ प्रहरी निरीक्षक यादवले भने ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरी प्रवक्ता डिएसपी बरुण सिंहले जानकारी दिए ।