सप्तरी, ५ असार । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले संघीयता पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनी संरचना तत्काल निर्माण गर्नु आवश्यक रहेको बताएका छन् ।

मधेश प्रदेशसभा सचिवालयद्वारा बिहीबार राजविराजमा आयोजित ‘जनता र जनप्रतिनिधिबीच संवादका लागि सभामुख जनतासँग’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

सभामुख मण्डलले जनप्रतिनिधि र जनताबीच प्रत्यक्ष संवादमार्फत समस्या बुझ्न र समाधानका उपाय पहिल्याउन आफू ‘सभामुख जनतासँग’ कार्यक्रम लिएर सिधै जनतामाझ पुगेको बताए । ‘जनताको आवाज सुन्ने र समाधानमा पहल गर्ने जिम्मेवारी निर्वाह गर्न यो संवाद प्लेटफर्म आवश्यक छ,’ उनले भने ।

उनले संघीयता सफल बनाउन जनप्रतिनिधि र जनताबीचको सम्बन्ध सशक्त हुनुपर्ने, सामाजिक सद्भाव कायम रहनुपर्ने र विधिको शासन बलियो हुनुपर्नेमा जोड दिए । साधनस्रोतको अभावका बाबजुद प्राथमिकता र प्रक्रिया अनुसार कार्य भए जनताको आकांक्षा पुरा गर्न सकिने विश्वास व्यक्त गरे ।

सभामुख मण्डलले संघीय सरकारले अझै पनि प्रहरी ऐन, निजामती ऐनलगायत संघीयतासम्बन्धी आधारभूत कानून नबनाएकोप्रति चिन्ता व्यक्त गर्दै भने, ‘संघीयता कागजमा मात्र सीमित हुनु हुँदैन, यसलाई व्यवहारमा उतार्न संघीय सरकारले कानुनी पूर्वाधार बनाउनु अत्यावश्यक छ ।’

सभामुख मण्डलले प्रदेशसभाबाट निर्माण हुने कानुन र जनताको गुनासोलाई सम्बन्धित निकायमा प्रभावकारी रूपमा पुर्याउन सबैले मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवको अध्यक्षता थियो । डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मलाह, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, नेकपा (एस) का नेता प्रतापनारायण चौधरीलगायत वक्ताहरूले मधेश सरकारले रोजगारीमुखी नीति ल्याएर प्रदेशमा सुशासन कायम गर्नुपर्ने सुझाव दिएका थिए ।