जनकपुरधाम, ५ असार । ११औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगंजले जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा एक भव्य योग शिविरको आयोजना गरेको छ ।

‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रमुख अतिथिको रूपमा सहभागी भए ।

महावाणिज्य दूतावासद्वारा आयोजित श्रृंखलाको यो चौथो योग शिविर हो । शिविरमा प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, जनकपुरधामका मेयर मनोज कुमार साह, प्रदेशसभा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, शिक्षक–विद्यार्थी, पतञ्जलि योग समिति तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री सिंहले कार्यक्रममा योगको शारीरिक र मानसिक स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे प्रकाश पार्दै धार्मिक–सांस्कृतिक शहर जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस मनाइनु गौरवको विषय भएको बताए । सभामुख मण्डल र मेयर साहले नेपाल–भारत सम्बन्ध सुदृढ तुल्याउन यस्ता सांस्कृतिक कार्यक्रमहरू महत्त्वपूर्ण हुने धारणा राख्दै दूतावासको प्रयासप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा भारतका महावाणिज्यदूत देवी सहाय मीनाले संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा नेपालसहित १७७ राष्ट्रको सहमतिमा अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेको जानकारी दिँदै योगको विश्वव्यापी महत्वबारे चर्चा गरे । उनले योगले सीमाना, भाषा र संस्कृतिको अवरोध तोड्दै मानवतालाई जोड्ने साधनका रूपमा स्थापित भएको उल्लेख गरे ।

नेपाल–भारत मैत्री संघ, पतञ्जलि योग समिति र अन्य संघसंस्थाहरूको सहकार्यमा सम्पन्न सो शिविरमा विभिन्न उमेर समूहका करिब ७ सय व्यक्तिहरूको सहभागिता थियो ।