जनकपुरधाम, ५ असार । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा करोडौं रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार परिषद्को रकम बिना प्रक्रिया खर्च, गाडी खरिद तथा बिक्रीमा अनियमितता, आर्थिक पारदर्शिताको अभाव र मिलेमतोमा रकम दुरुपयोग गरिएको पाइएको हो ।

पूर्व कार्यकारी निर्देशक ठाकुरले एक्लैले ५१ लाख ७१ हजार रुपैयाँभन्दा बढीको भ्रष्टाचार गरेको आयोगको ठहर छ । ठाकुरकी पत्नी इन्दुलेखा कुमारी ठाकुरमाथि पनि ४५ लाख २२ हजार रुपैयाँ भ्रष्टाचारमा संलग्न भएको आरोप लगाइएको छ ।

त्यस्तै, लेखापाल सावित्री गिरीमाथि ३० लाख ७२ हजार, प्रशासकीय अधिकृत चिरञ्जीवी शर्मामाथि १० लाख, कम्प्युटर अधिकृत कृष्णमुरारी सिंहमाथि १४ लाख ९९ हजार र सवारी चालक विक्की कुमार चौधरीको पनि संलग्नता देखिएको छ ।

उपभोक्ता समिति अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बबितादेवी साहसँग २० लाख ९९ हजार रुपैयाँ बराबरको बिगो माग गरिएको छ । जनकपुरधामका ठेकेदार जितेन्द्रकुमार यादव पनि भ्रष्टाचार मुद्दाका प्रतिवादी रहेका छन् ।

अख्तियारले आफ्नो विस्तृत छानबिनपछि सबै आरोपितहरूले आ–आफ्नो पद, पहुँच र अधिकारको दुरुपयोग गर्दै सार्वजनिक सम्पत्तिको दोहन गरेको प्रमाणित भएको उल्लेख गरेको छ । विशेष गरी सवारीसाधन खरिद प्रक्रियाविहीन ढंगले गरिएको, योजना कार्यान्वयनमा पारदर्शिता नरहेको र उपभोक्ता समिति तथा ठेकेदारसँग मिलेमतोमा भ्रष्टाचार गरिएको देखिएको छ ।

परिषद् मधेश प्रदेशको एक महत्वपूर्ण पूर्वाधार विकास संस्था भएकाले यसमा देखिएको भ्रष्टाचारलाई उदाहरणीय रूपमा कारबाही गर्नुपर्ने अख्तियारको भनाइ छ । आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रमार्फत दोषीहरूमाथि कानुनी कारबाही गर्दै क्षतिपूर्ति असुल गर्न माग गरिएको छ ।