सिरहा, ५ असार । सिरहाको गोलबजारमा एक १७ वर्षीया युवतीले डेरामा गएर एक युवकको घाँटीमा छुरा प्रहार गरेकी छन् ।

प्रेम सम्बन्धमा दरार उत्पन्न भएपछि वादविवादको क्रममा छुरा प्रहार गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

गोलबजार नगरपालिका–१३ निवासी २४ वर्षीय अशोक कुमार महतो घाइते भएका छन् । उनी गोलबजार नगरपालिका–४ मा डेरागरी बस्दै आएका थिए । बिहीबार साँझतिर युवती डेरासम्म पुगेर तरकारी काट्ने छुरा प्रयोग गरी घाँटीमा प्रहार गरेको बताइएको छ ।

घाइते महतोको स्थानीय भूमिजा अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

सिरहा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्रकुमार पासवानका अनुसार गोलबजार नगरपालिका–२ बस्ने ती किशोरीलाई नियन्त्रणमा लिइ घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

स्थानीयका अनुसार युवती र युवकबीच पहिले प्रेम सम्बन्ध रहेको थियो । हाल उक्त सम्बन्धमा विवाद देखिएपछि घटनाले यस्तो रूप लिएको हुन सक्ने अनुमान गरिएको छ ।