बारा, ४ असार । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४ बघवन टोलमा पुरानो विवादका कारण कुटपिट गरी एक पुरुषको हत्या गरिएको घटनामा संलग्न ६ जना अभियुक्तमध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको छ भने बाँकी दुईजनाको खोजी तीव्र पारिएको छ ।

गत जेठ २९ गते साँझ करिब ६ः१५ बजे ५० वर्षीय नन्दु राउत कुर्मीमाथि समूहिक हमला गरिएको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो । तर, चिकित्सकले साँझ ७ः२० बजे मृत घोषणा गरेका थिए ।

हत्या घटनापछि सक्रिय बनेको जिल्ला प्रहरी कार्यालय बाराले घटनाको दिन नै एक अभियुक्त २८ वर्षीय दिगम्बर साह कलवारलाई पक्राउ गरेको थियो । उनलाई ज्यानसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।

अनुसन्धानको क्रममा प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमाण्डमा खटिएको विशेष टोलीले बुधबार थप तीन अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा कलैया–१४ की ३८ वर्षीया रन्जु जैसवाल, उनका २० वर्षीय छोरा सुमित जैसवाल र १८ वर्षीय सुजित कुमार जैसवाल छन् । उनीहरू कलैया–५ र वीरगंजको शान्ति टोलमा लुकिछिपी बसेको अवस्थामा फेला परेका हुन् ।

पक्राउ परेकाहरूमाथि जिल्ला अदालत बाराबाट म्याद थप गरी अनुसन्धान जारी रहेको छ । प्रहरीले बाँकी दुई फरार अभियुक्तको खोजीमा थप सक्रियता बढाएको जनाएको छ ।