सप्तरीमा ’थ्री फेज कृषि विद्युतीकरण’ सुरु, डीजेल पम्पको विकल्पमा किसानलाई सस्तो सिंचाइ

सप्तरी, ४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरीको हनुमाननगरस्थित कंकालिनी नगरपालिकामा ‘थ्री फेज कृषि विद्युतीकरण’ कार्यक्रमको औपचारिक उद्घाटन गरेका छन् ।
बुधबार वडा नम्बर–६ मा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले विद्युतीकरण योजनाले कृषिमा उत्पादन वृद्धि, सिंचाइको पहुँच र प्रविधिको उपयोगमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
उनले कृषि आत्मनिर्भरताका लागि मल, बीउ, सिंचाइ र बजार सुनिश्चितता अनिवार्य रहेको उल्लेख गर्दै प्रदेश सरकारले यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
‘कृषिमा प्रविधिको प्रयोग अब विकल्प होइन, अपरिहार्य आवश्यकता हो,’ मुख्यमन्त्री सिंहले भने, ‘थ्री फेज विद्युतीकरणले किसानलाई डीजेल पम्पको झन्झटबाट मुक्ति दिलाउनेछ ।’
कार्यक्रममा कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले विद्युतीकरणपछि किसानहरूलाई सिंचाइका लागि लाग्ने विद्युत महसुल नगरपालिकाले व्यहोर्ने घोषणा गरे ।
यो योजनाबाट नगरपालिकाको वडा नम्बर २, ५, ६, ७ र ८ का किसानहरू लाभान्वित हुने छन् । स्थानीय जनप्रतिनिधि, किसान र प्रदेश सरकारका पदाधिकारीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा किसानहरूले दीर्घकालीन र स्थायी कृषि पूर्वाधारमा थप लगानीको माग समेत गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

